२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
श्रोत केन्द्र

न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलर, अगस्तदेखि आवेदन

न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले समेत अगस्तदेखि एक्सक्लुडेड वर्कर्स फण्डका लागि आवेदन दिन पाउने भएका छन् । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

अगस्तभन्दा अगाडि आवेदन उपलब्ध नहुने भन्दै कुनै संस्था वा व्यक्तिले आवेदन पेश गरिदिने भन्दै आवेदकका व्यक्तिगत विवरणहरु मागेको खण्डमा वा रकम लिन खोजेमा सजग हुन र ठगहरुबाट बच्न न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सजग गराएको छ ।

झण्डै ३ लाख कागजपत्रविहिन कामदारहरु यो कार्यक्रम अन्तरगत रकम प्राप्त गर्न योग्य हुनेछन् । उनीहरुले न्युयोर्कमा बसेको र महामारीका कारण आम्दानी गुमाएको प्रमाण पेश गरेको खण्डमा १५ हजार ६ सय डलरसम्म सहायता रकम पाउनसक्नेछन् । विगतमा राज्य वा संघीय सरकारको कुनै पनि सहायताका लागि योग्य नभएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो रकमका लागि योग्य हुने हाल न्युयोर्क निवासी हुनुपर्नेछ भने सन् २०२० को मार्च २७ भन्दा अगाडिदेखि न्युयोर्कमा बसोबास गर्दै आएको हुनुपर्नेछ । त्यस्तै सन् २०२० को फेबु्रअरी २३ पछि र मार्च २७, २०२० देखि अप्रिल १ २०२१ को बीचमा कोरोनाको महामारीका कारण आशिक वा पूर्णरुपमा आम्दानी गुमाएको हुनुपर्नेछ । आम्दानीको कति प्रतिशत गुमाएको हुनुपर्ने भन्ने विवरण पछि प्रकाशित गरिनेछ ।

त्यस्तै अप्रिल २०२१ भन्दा अगाडिको १२ महिनामा २६ हजार २ सय ८ डलरभन्दा कम आम्दानी गरेको हुनुपर्नेछ ।

न्युयोर्क राज्यमा बसोबास गरेको, सन् २०१८, २०१९ वा सन् २०२० को ट्याक्स रिटर्न देखाउन सकेको वा काम गर्न नसक्नुको कारणसहित रोजगादाताले लेखेको पत्र वा महामारीका कारण आम्दानी गुमाउनुभन्दा ६ माहिनाभित्रको ६ हप्ताको पे स्टब पेश गर्न सकेको खण्डमा १५ हजार ६ सय डलरसम्म पाउन सकिनेछ । त्यस्तै सन् २०१९ वा २०२० को डब्लु टु वा १०९९ पेश गरेको खण्डमा पनि १५ हजार ६ सय डलरसम्म पाउन सकिनेछ ।
तोकिएका कागजात नभएको खण्डमा पनि ३२ सय डलरका लागि योग्य हुन सकिनेछ ।

गतबर्षको मार्चपछि २४ हप्ताका लागि बेरोजगार भएको अनुमान गरेर उनीहरुलाई रकम प्रदान गरिनेछ । यसरी रकम प्रदान गर्दा औषतमा साप्ताहिक ३ सयका दरले रकम प्रदान गरिनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कागजात प्रमाणिकरण प्वाइन्ट प्रणालीबाट गरिनेछ । परिचय प्रमाणित गर्न ४ प्वाइन्ट डकुमेन्ट आवश्यक हुन्छ । म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड वा अमेरिकी पासपोर्ट भएको खण्डमा ४ प्वाइन्ट प्राप्त हुन्छ ।

अमेरिकाबाहिरको पासपोर्ट ३ प्वाइन्ट, मानसिक स्वास्थ्य कार्यालयले जारी गरेको परिचयपत्र २ प्वाइन्ट, विवाहको प्रमाणपत्र १ प्वाइन्ट, डिभोर्सको प्रमाणपत्र १ प्वाइन्ट, न्युयोर्क सिटीको पार्क प्रवेशको कार्ड १ प्वाइन्ट, अमेरिकाबाहिरको जन्मदर्ता प्रमाण १ प्वाइन्ट, अमेरिकाबाहिरको सरकारी परिचयपत्र वा कन्सुलेट कार्ड १ प्वाइन्ट, डिप्लोमा ट्रान्सक्रिप्ट १ प्वाइन्ट प्राप्त हुनेछ ।

मार्च २७, २०२० भन्दा अगाडि न्युयोर्कमा बसेको प्रमाणित गर्नका लागि म्याद नसकिएको ड्राइभर लाइसेन्स वा स्टेट आईडी वा आईडीएनवाईसी कार्ड देखाउन सकिनेछ । यदि ती कागजात नभएको खण्डमा मार्च २७, २०२० भन्दा अगाडिको युटिलिटी बिल, बैंक वा क्रेडिट कार्ड स्टेटमेन्ट, लिज, मोर्गेज स्टेटमेन्ट वा सम्पत्ति ट्याक्स स्टेटमेन्ट, न्युयोर्क सिटी हाउजिंग अथोरिटीले लेखेको पत्र, होमलेस सेल्टरले लेखेको पत्र, होमलेस सेवा प्रदान गरेको गैर नाफामुलक संस्थाले लेखेको पत्र लगायतका कुनै दुईपवटा प्रमाण पेश गर्नुपर्नेछ ।

थप जानकारीका लागि डिपार्टमेन्ट अफ लेवरको फ्याक्ट सिट पढ्नुहोला ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →