अमेरिकामा आजदेखि १२ बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन
प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार
अमेरिकामा आज बिहिबारदेखि १२ बर्षमाथिकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्न सुरु गरिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति दिएपछि आजदेखि वितरण हुने सुरु भएको हो । अब अमेरिकामा यो भ्याक्सिन १२ बर्षमाथिका सबैले लगाउन पाउने भएका छन् ।
अमेरिकामा १२ बर्षदेखिमाथिकालाई प्रयोगको अनुमति दिइएको फाइजर पहिलो र एकमात्र भ्याक्सिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ बर्षदेखि माथिकाहरुलाई फाइजरको भ्याक्सिन तुरुन्त उपलब्ध गराउन राज्यहरुलाई आग्रह गरे अनुशार न्युयोर्क लगायतका राज्यहरुले आजदेखि उपलब्ध गराएका छन् । बालबालिकाहरुलाई भ्याक्सिन प्रदान गरिनुलाई सुरक्षित रुपमा विद्यालय संचालनका लागि निकै महत्वपूर्ण मानिएको छ ।

मार्चको अन्तिममा गरिएको फाइजरको क्लीनिकल परीक्षणमा २२ सय ६० जना १२ बर्षदेखि १५ सम्मका बालबालिकाहरु सहभागी थिए । उनीहरुमा भ्याक्सिन शतप्रतिशत प्रभावकारी पाइएको छ ।
डिसेम्बरमा प्रयोगको अनुमतिपछि अमेरिकामा फाइजर र मोडेर्ना भ्याक्सिन धमाधम वितरण भइरहेको छ । अमेरिकामा एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई पनि प्रयोगको अनुमति छ । मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने १८ बर्षभन्दा माथिकाहरुलाईमात्र लगाउन अनुमति छ ।

त्यस्तै मेरिल्याण्डमा रहेको नोभाभ्याक्सले पनि १२ बर्षदेखि १७ बर्षसम्मका ३ हजारसम्ममा तेश्रो चरणको क्लीनिकल परीक्षण विस्तार गर्ने बताएको छ । उनीहरुलाई दुईडोज भ्याक्सिन वा सलाइन २१ दिनको अन्तरमा प्रदान गरिनेछ । यो भ्याक्सिनले भने अमेरिकामा प्रयोगको अनुमति पाएको छैन ।





