अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर शटपनि निशुल्क उपलब्ध गराउने
प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार
अमेरिकाले कोरोनाबिरुद्धको तेश्रो बुस्टर शटपनि निशुल्क उपलब्ध गराउने भएको छ । महामारीसँग जुध्नका लागि कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर शट आवश्यक भएमा त्यो पनि निशुल्क उपलब्ध गराउने ह्वाइट हाउसको कोरोना महामारीबिरुद्धको टिमका प्रमुख बैज्ञानिक अधिकृत डेभिड केस्लरले बताएका छन् ।
आफूहरुसँग अर्को चरणको भ्याक्सिनका लागि समेत फण्ड उपलब्ध रहेको र तेश्रो बुस्टर शट आवश्यक भएमा त्यो पनि निशुल्क नै उपलब्ध गराउने उनले बताएका हुन् । २०२२ वा त्योभन्दा पछाडिमात्र अमेरिकामा भ्याक्सिन किनेर लगाउनुपर्ने हुनसक्ने जनाइएको छ ।

भविश्यका कोरोनाबिरुद्धको प्रकारबिरुद्ध बुस्टर शट आवश्यक भएन नभएको भने अहिलेसम्म स्पष्ट नभएको केस्लरको भनाई छ । तर अमेरिकाले त्यसको तयारी भने गरिसकेको छ ।
कोरोनाबिरुद्ध लड्नका लागि भ्याक्सिनले बनाएको एन्टीबडी केहीसमयपछि हराउने र भ्याक्सिनको प्रभावकारिता कमहुँदै जाने भएकाले तेश्रो बुस्टर शट आवश्यक पर्नसक्नेबारे अनुसन्धान भइरहेको छ । साथै अमेरिकाले भाइरसबिरुद्ध लड्नका लागि सजिलै वितरण गर्न सकिने र मुखले खाए पुग्ने एन्टीभाइरल औषधी बनाउनका लागि काम तीब्र पार्नुपर्ने केस्लरले बताए ।

अमेरिकाले कोरोनाबिरुद्ध लड्नका लागि एन्टीबडीको प्रयोग गर्ने केही औषधीहरुलाई आपतकालिन प्रयोगको अनुमति दिइसकेको छ । तर ती औषधीहरु सलाइनमार्फत दिनुपर्ने हुन्छ भने चिकित्सकहरुले ब्यापक रुपमा प्रयोग गरिरहेका छैनन् ।
मोडेर्नाले तेश्रो बुस्टर शटबारे परीक्षण सुरु गरिसकेको छ । मोडेर्नाको बुस्टर शटले ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको कोरोनाबिरुद्धको प्रकारबिरुद्ध लड्न प्रभावकारिता देखाइसकेको छ ।





