यसकारण ओलीलाई विश्वासको मत दिएनौं (माधव नेपालको विज्ञप्तिसहित)


प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै पार्टीका विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका कार्य तीब्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेल्ने काम गरेकाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएको स्पष्ट पारेका छन्।

विश्वासको मत असफल भएपछि विज्ञप्ति जारी गर्दै नेपालले ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नु कर्तब्य हुनेभएकोले सोही अनुरुप विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन्।

नेपालले पुनः पार्टी एकतालाई जोड दिएका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरी पनि देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं।’

यस्ताे छ विज्ञप्ति

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मितिः बैशाख २७, २०७८
प्रेस वक्तव्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार अघि बढाउने हाम्रो प्रयास पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कारण सफल हुन सकेन । उहाँले प्रतिनिधि सभामा विश्वासको मत लिनु पूर्व समेत हिजो मात्र प्रेस वक्तव्य मार्फत अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्ति देखाइरहनु भयो । पार्टीलाई नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णय अनुसार अघि बढाउँदै यसको एकतालाई जोगाउनु पर्छ भन्ने हाम्रो कुरा उहाँले मान्नु भएन । सर्वोच्च अदालतको फैसला पछि क. केपी ओलीले निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गर्नुपर्नेमा त्यसो नगरी २०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यहरुको भेला गर्नुभयो । त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुभयो । त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरुको मनोनयन गर्नुभयो । हामी लगायतका केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । यसरी क. केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समात्नु भयो ।
क. केपी ओलीले पार्टी विधानलाई कुल्चेको घटनाबाट चिन्तित हुँदै २०७७ साल चैत्र २ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको वार्तामा हामीले सर्वोच्च अदालतको फैसला अनुरुप पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीहरु एवम् जनसंगठनका सबै संरचना पूर्ववत् विधिसम्मत रुपमा सञ्चालन गर्ने, विगतमा उत्पन्न अन्तरविरोध, समस्या र कटुताको बारेमा पार्टीमा सहज स्थिति भएपछि उपयुक्त समयमा समीक्षा गर्ने र पार्टीलाई एकताबद्ध तथा विधिसम्मत किसिमले चलाउने प्रस्ताव राख्यौं । तर केपी ओलीले नत हाम्रो प्रस्ताव मान्नु भयो नत पार्टी एकता र अदालतको फैसला अनुरुप गर्न कुनै प्रस्ताव नै राख्नु भयो । त्यसपछि उहाँ अझ उदण्ड र निरंकुश किसिमले व्यवहार गर्नथाल्नु भयो । चारजना पार्टी स्थायी कमिटीका नेताहरुलाई आधारहीन आरोप लगाउँदै कथित स्पष्टिकरण सोध्ने र पार्टीबाट नै निलम्बन गर्ने फुटपरस्त काम गर्नुभयो । त्यसबाट पनि उहाँभित्रको तानाशाही वदलाको आगो निभेन । उहाँले हामी लगायत ३० जना प्रतिनिधि सभाका सदस्यहरुलाई अत्यन्त आधारहीन र निकृष्ट शब्दावली प्रयोग गरी स्पष्टिकरण सोध्नुभयो । हामीले उहाँका त्यस्ता गलत र निराधार आरोपहरुलाई अस्वीकार गर्दै जबाफ दियौं ।
आफ्नो गुटको पिछलग्गु हुन अस्वीकार गर्ने देशभरिका नेकपा (एमाले) का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई कथित स्पष्टिकरण सोध्ने, धम्क्याउने र जिम्मेवारी एवम् पार्टीबाट निलम्बन र निष्काशन गर्ने घृणित विभाजनकारी कार्य केपी गुटबाट भएका छन् । यस्ता अलोकतान्त्रिक र पार्टी विधान विरोधी क्रियाकलापहरुप्रति नेकपा (एमाले) का इमान्दार, देश र जनताप्रति निष्ठावान नेता, कार्यकर्ता र सदस्यहरुले विरोध र प्रतिवाद गर्दै आएका छन् ।
यति हुँदा पनि हामीले पार्टी एकता जोगाउन क. केपी ओलीसंग अनेक पटक विभिन्न किसिमले वार्ता ग¥यौं । उहाँले वार्तालाई केवल अल्मल्याउने र भ्रम सिर्जना गर्ने दाउपेचका रुपमा उपयोग गर्नखोजेकोे देखियो । कुनै सकारात्मक सोच र प्रस्ताव राखेको पाइएन । वार्ता पछि झन क. केपी ओलीले स्थायी कमिटीको गठन र कार्यविभाजनको कथित निर्णय गर्दै कम्युनष्टि आन्दोलनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरुलाई निष्काशन गर्ने खेदजनक कार्य गर्नुभयो । यही वैशाख २६ गते पार्टी एकताका लागि स्पष्ट आधार सहित उहाँलाई पत्र समेत पठाइयो । तर त्यसप्रति उहाँले कुनै चासो नराखी फुटकै बाटोमा अघि बढ्नु भयो ।
पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले पार्टीमा मात्र होइन राज्य सञ्चालनमा समेत अनेकांैं स्वेच्छाचारी र अनियमित कार्य गर्नुभएको छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन, संवैधानिक परिषद्मा मनपरी, कानूनी शासनको उपहास, भ्रष्टाचारीहरुलाई संरक्षण जस्ता उहाका क्रियाकलापहरु छताछुल्ल भइसकेका छन् । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला जनताको स्वास्थ्य सुरक्षाका लागि काम गर्नुपर्ने बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टचार गर्नेहरुलाई प्रश्रय दिनुका साथै राष्ट्रलाई अन्योलग्रस्त तुल्याउने र विभाजित गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको छ । प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेपछि पनि प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्णयको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने लोकतन्त्रको न्यूनतम मर्यादा र नैतिकता नदेखाई देश र दुनियाँका सामु नेकपा (एमाले) को प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्नुभयो ।
गत हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी ओली एक दिन पनि उपस्थित नभई र त्यसलाई कुनै काम नदिई अन्त्य गरियो । तर नियमित अधिवेशनमा लिनुपर्ने विश्वासको मत आफैले अधिवेशन बोलाई लिने गलत बाटोमा प्रधानमन्त्री केपी ओली अग्रसर हुनुभयो । यसरी उहाँले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम–कार्वाई तीब्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहनु भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरु गर्दै राज्यलाई नै कमजोर तुल्याइरहनु भएको छ । प्रदेश सरकारहरुलाई पनि सत्ता संघर्षतर्फ धकेल्दै अस्तव्यस्त बनाउनेतर्फ उहाँको संलग्नता रहेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा गण्डकी र लुम्बिनी प्रदेशमा संविधान र लोकतन्त्रको मर्म तथा मान्यता विपरीत भएका कार्यहरुलाई लिन सकिन्छ ।
पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकार्वाइका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो । उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुनेभएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो । प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरी पनि देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं ।
माधव कुमार नेपाल
वरिष्ठ नेता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com