न्युयोर्कको शेर्पा किदुगबाट विना अप्वाइन्टमेन्ट जोन्सन एण्ड जोन्सनको भ्याक्सिन, नेपालीमा भाषा अनुवादक
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनबाट कोरोनाबिरुद्धको एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण भइरहेको छ । हिजो बिहिबारदेखि भ्याक्सिन वितरण गरिएको र आइतबारसम्म वितरण गरिने जनाइएको छ ।

विहान ८ बजेदेखि ६ बजेसम्म भ्याक्सिन वितरण भइरहेको र जुनसुकै प्रकारको बैध फोटो आईडी देखाएर भ्याक्सिन लगाउन सकिने जनाइएको छ । भ्याक्सिन लगाउनका लागि अप्वाइन्टमेन्ट पनि आवश्यक नपनै तथा भ्याक्सिनबारे बुझाउन अँग्रेजी नजान्नेहरुका लागि नेपाली भाषा अनुवादकको समेत व्यवस्था गरिएको छ ।
यसभन्दा अगाडि शेर्पा किदुगसँगको सहकार्यमा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा पनि मोबाइल भ्याक्सिन वितरण संचालन गरिएको थियो । त्यसअगाडि झण्डै ४ सय जनाले शेर्पा किदुगमार्फत फर्म भरेर जमैका अस्पतालबाट कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए ।

कोरोना महामारी सुरु भएयता नै शेर्पा किदुगले महामारी प्रभावितहरुलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउँदै आएको छ । सुरुको चरणमा संक्रमित र जोखिमपूर्ण जनसंख्यालाई औषधी, मास्क, सेनिटाइरजर लगायत स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको किदुगले समस्यामा परेका विद्यार्थीहरुलाई पनि खाद्यान्न र अन्य सहयोग गरेको थियो । कोरोना महामारीमा फस्ट रेस्पोण्डरका रुपमा काम गरेको किदुगले अमेरिकन मुलधारका संचारमाध्यमको समेत ध्यान खिचेको थियो ।

महामारी लगत्तै कैयन विद्यार्थीहरुले आर्थिक समस्याको सामना गरिरहेका थिए भने कैयन बिरामीहरु ग्रोसरी किन्न घरबाहिर जान नसक्ने अवस्था थियो । कतिपय बृद्धबृद्धा र दीर्घरोगीहरु ग्रोसरी किन्न घरबाहिर जान डराइरहेका थिए । कतिपयका घरका सदस्यहरु बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । यो अवस्थामा ग्रोसरीको प्याकेज बनाएर शेर्पा किदुगको टिमले घरघरमा पुर्याएको थियो ।





