न्युयोर्कमा सबै बयस्क भ्याक्सिनका लागि योग्य, देशब्यापी डेडलाइन अप्रिल १९ तोक्दै बाइडेन
न्युयोर्कमा आजदेखि १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य भएका छन् । आजदेखि न्युयोर्कमा सबै बयस्कहरुले भ्याक्सिन लिनसक्ने भएका छन् ।
न्युजर्सीमा भने अप्रिल १९ बाट १६ बर्षमाथिका सबै बयस्कहरु भ्याक्सिनका लागि योग्य हुनेछन् । गभर्नर फिल मर्फीले सोमबार यसको घोषणा गरेका हुन् । न्युजर्सीमा अहिलेसम्म १७ लाखभन्दा धेरैले पूर्णरुपमा भ्याक्सिन लगाइसकेका छन् ।
यसैबीच राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेकोमा आज उक्त डेडलाइन अगाडि सारेर अप्रिल १९ का लागि तय गर्ने घोषणा गर्दैछन् । अधिकांश राज्यहरुले भ्याक्सिनका लागि मे १ बाट सबैलाई योग्य बनाउने योजना बनाएपनि बाइडेनको घोषणापछि उक्त डेडलाइन अगाडि सार्ने अपेक्षा गरिएको छ ।

अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ४० दशमलव २ प्रतिशत १८ बर्ष काटेका बयस्कहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । दुबै डोज लगाउने बयस्कहरु २३ दशमलव २ प्रतिशत पुगिसकेका छन् । ६५ बर्षमाथिको ७५ दशमलव २ प्रतिशत जनसंख्याले भ्याक्सिन लगाइसकेका छन् ।
अमेरिकामा भ्याक्सिन लगाउने जनसंख्या १ सय ७ मिलियन नाघिसकेको छ । बाइडेन प्रशासनले अप्रिलभरमा २ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

अमेरिकाका ५० वटै राज्यमा बेलायतमा भेटिएको कोरोनाको नयाँ प्रकारको संक्रमण पुष्टी भएको बेलामा भ्याक्सिन कार्यक्रमलाई बाइडेन प्रशासनले अझ तीब्र बनाउदैछ ।स्टाण्डफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले कोरोना भाइरसको भारतीय प्रकारको पहिलो संक्रमण अमेरिकाको क्यालिफोर्नियामा फेला परेको पुष्टी गरिसकेका छन् ।





