संसद विघटनको विषयमा सर्वोच्चले गर्ने निर्णयलाई स्वीकार्नुपर्छ : भण्डारी
प्रकाशित मिति : पुस २७, २०७७ सोमबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसद विघटन संविधान विपरीत रहेको बताएका छन् । उनले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउँदै संसद विघटनको विषयमा सर्वोच्चले गर्ने निर्णय नै अन्तिम निर्णय हुने बताए । ‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो । उनले भने, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’ उनले सर्वोच्चमा रहेको बिचाराधीन मुद्धामाथि सडकबाट फैसला गर्न नहुने समेत प्रष्ट पारे ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै डा. भण्डारीले उनले सर्बोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिशहरुले बोल्नु गलत भएको बताए । उनले भने, ‘विधिको शासन र व्यवस्थाप्रति विश्वाश गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु हुदैन थियो ।’ वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको समेत उनले बताए ।
कांग्रेसका प्रभावशाली नेता भण्डारीले नेपाली कांग्रेसको महाधिवेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उनले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने उनले बताए । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।





