ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

कोभिड–१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज/कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो ।

यसअघि विसं २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ । पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ ।

कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ । “चैत/वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उनले भने । ढोरपाटनमा प्रायः गरी असोज/कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।

विभागले हरेक पाँच/पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ । झारलको पनि अर्को वर्ष गणना हुनेछ । विसं २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए । जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो । उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो । तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन । उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।

नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन् । बर्सेनि असोज÷मङ्सिर र फागुन/वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ । कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम (असोज–मङ्सिर) मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए । विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन् ।

अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन । शिकार हुन नसक्दा राजस्व पनि गुम्यो । सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् । शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ । सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ । यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ । प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ । सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किमिमा फैलिएको छ ।

वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन् । एक जना शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । दुई वर्षअघि एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए । बर्सेनि शिकारको राजश्व घटबढ हुने गरेको छ ।

शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ । आउँदो फागुन–वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ । शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन् । हेलिकप्टरमार्फत आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन् । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com