मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, “पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।”

पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ/छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उनको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उनले भने, “चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो । चक्रपथभित्र नयाँ पाइपलाइन नभएका स्थानमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी स्थानमा गत साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, “अरु ठाउँमा निर्माण सकिएपछि मात्रै त्यहाँ ठेक्का गरिएको थियो ।”

उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ स्थानमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताए । सो स्थानमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उनले जानकारी दिए ।

मेललम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरण गर्नेछ । सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उनले जानकारी दिए । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उनले बताए ।

निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । सरकारले गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उनको भनाइ छ ।

मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ/छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com