बाह्रै महिना गर्मी नहुने जेफालेःपर्यटकीय आकर्षणको केन्द्र


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ ।

त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ ।

सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे ।

होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ ।

जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।

चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ ।

स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।”

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो ।

भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ ।

जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् ।

छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर छ, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ ।

जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलँैची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com