पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो ।

चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ ।

एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भन्नुभयो – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।”

पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ ।

दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ ।

सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ ।

प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् ।

रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ ।

पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com