बागलुङ बाढी : ‘पाँच सेकेण्डले बाँच्यौँ’


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो-कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए । रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाएपछि फेरि ढोरपाटनतिरै यात्रा तय गर्ने बरु जहाँसम्म सडक राम्रो छ त्यहाँ पुग्ने र फर्किने निचोड निकाले ।

सालझण्डी-ढोरपाटन कच्ची सडक हुँदै उनीहरुको यात्रा अघि बढ्यो । दुई मोटरसाइकलमा चारजना सवार थिए । शुरुमा बोबाङसम्म भएपनि पुगौँ भनेर बुर्तिबाङबाट हिँडेको कृष्णले सुनाए। ‘बोबाङसम्म पुग्दा सडक ठीकै लागेपछि अझै अघि जाऔँ भन्ने लाग्यो’, उनले भने, ‘साँझ ५ बजेतिर हामी लाकुँरीबोट भन्ने ठाउँमा पुग्यौँ ।’ लाँकुरीबाट ढोरपाटन नगरपालिका-९ मा पर्छ । उनीहरु त्यहाँ पुग्दानपुग्दै पानी पर्न थाल्यो । वर्षा रोकिने छाँटकाँट नदेखिएपछि गाउँलेको होटलमा ओत लागे । ‘फल्लेघरसम्म पुगेर बास बसौँ, त्यहाँबाट हिँडेरै भएपनि ढोरपाटन पुगिन्छ भन्ने सोचेका थियौँ तर होटल पनि नयाँ र केही व्यवस्थित लागेपछि लाकुँरीबोटमै बसियो’, कृष्णले भने ।

उनीहरुले होटलको उपल्लो तलामा कोठा लिए । त्यतिञ्जेलसम्म पनि वर्षा रोकिएको थिएन । नौलो ठाउँमा पुग्दा नयाँ परिकार खाऔँ न भनेर होटलको भान्सामा ढिँडो बनाउन लगाएको कृष्णले बताए। ‘हामी खाना खान तल झर्दैँ थियौँ, त्यतिबेला होटलभित्र भल पसिसकेको रहेछ’, उनले भने, ‘नजिकै खोला भएकाले थप जोखिम हुने हो कि भनेर होटल सञ्चालक र छिमेकीसहित बाहिरको अवस्था हेर्न निस्कियौँ ।’

भुजीखोलाको बहावले होटलदेखि अलि माथि रहेको झोलुङ्गे पुल छुन लाइसकेको थियो । कृष्ण र उनका साथीहरुले घरमा क्षति हुन सक्ने भन्दै होटल सञ्चालकलाई बालबच्चा र सरसमान बाहिर निकालेर सुरक्षित हुन सुझाव दिए । उनीहरुले पनि होटलभन्दा माथि अग्लो ठाउँमा रहेको घरमा मोटरसाइकल राख्ने र त्यही जोगिएर बस्ने उपाय निकाले । ‘सबैतिर अन्धकार थियो, खोला पनि ठूलो आवाजसहित बग्न थाल्यो, मानिसहरु मेरो घर बगायो भनेर बिलौना गरिरहेको सुनिन्थ्यो’, कृष्णले भने, ‘हामी हतारहतार होटलबाट निस्कन लागेका थियौँ, साथी नवीन मोटरसाइकलमा थोरै अघि गयो, मैले पनि मोटरसाइकल स्टार्ट गर्दै थिएँ, त्यतिकैम बाढी आइहाल्यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृष्णले मोटरसाइकल त्यहीँ छाडेर आफू बारीको कान्लो उक्लेर माथितिर भागेको बताए । दिलु र इन्द्र पनि ज्यान जोगाउन सुरक्षित ठाउँतिर लागे । एक घण्टापछि बल्ल कृष्ण, दिलु र इन्द्रको भेट भयो । नवीन भने सम्पर्कमा आएनन् । ‘पाँच सेकेण्डले बाँच्यौँ, नत्र हामीलाई पनि बाढीले बगाउने थियो’, कृष्णले भने । मोटरसाइकलबाट सुरक्षित स्थलतर्फ जान लाग्दा नवीन भने बाढीमा बेपत्ता भएका छन् । मोटरसाकइलसमेत भेटिएको छैन । साथी हराएपछि रातभर खोजीमा भौँतारिएको कृष्णले सुनाए । ‘हामी तीन जना त बल्लबल्ल बाँच्यौँ तर बाँचेको सार पनि नभएजस्तो लागेको छ, सँगै गएको साथी सम्पर्कमा नआउँदा हामी दुःखी छौँ’, उनले भने।

बाढीले कृष्णको मोटरसाइकल पनि बगाएको छ । राति करिब ११ बजेतिर बाढी बस्तीतिर पसेको कृष्णले बताए । उनले कल्पना नगरेको घटना आँखा अघिल्तिर भएको उल्लेख गरे। ‘पहिलोपटक गएका थियौँ, भूगोल कस्तो छ, थाहा थिएन, माथि जाऔँ भीर, तल खोला ज्यान जोगाउन पनि कठिन भयो’, उनले भने । नवीन बाढीमा बेपत्ता भएको खबर पाए लगत्तै खोजी र उद्धारका लागि गलकोटबाट वडाध्यक्षसहितको टोली घटनास्थल पुगेको छ । सकुशल रहेका तीन जनालाई उद्धार गरी बुर्तिबाङमा राखिएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । बेपत्ता नवीनको खोजी कार्य चलिरहेको उनको भनाइ छ ।

नवीन गलकोट नगरपालिका–४ र अन्य तीनजना वडा नम्बर ३ का हुन् । उनीहरु बसेको लाँकुरीबोटको होटलमा पनि बाढीले क्षति पुर्याएको छ । वस्तुभाउ बगाएको छ । मानिस भने भागेर बाच्न सफल भएका छन् । त्यहाँका दर्जन बढी घर बाढीले क्षतिग्रस्त बनेका छन् । केही स्थानीयवासी बेपत्ता छन् । बाढीपहिराले ढोरपाटन नगरपालिका–९ लाँकुरीबोट, सुप्राङ, भुसुण्डे, फल्लेघर, दुनेपँधेरालगायतका बस्तीमा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीमा ज्यान गुमाएका १४ जनाको शव फेला परेको छ भने बेपत्ताको संख्या एकिन हुन सकेको छैन ।

बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए । बाढीले विद्यालय, सडक, झोलुङ्गे पुल, लघुजलविद्युत्, खानेपानी आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीग्रस्त क्षेत्रका मानिस राहत र पुनःस्थापनाको पर्खाइमा छन् ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com