वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटे


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् ।

गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले चार्टर उडानमार्फत स्वदेश फिर्ता गरिरहेको छ । नेपाल सरकारले गएको फागुन २९ गतेबाट श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यो वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्ला वर्षभन्दा घट्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले गत आर्थिक वर्षको चार महिना त श्रम स्वीकृति र अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द भएकाले श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको बताउनुभयो । विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा संस्थागत र व्यक्तिगत रूपका वैदेशिक रोजगारीका लागि विभिन्न १२७ देशमा जानका लागि तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमध्ये तीन लाख ४० हजार पुरुष र २८ हजार ४३३ महिला छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये संस्थागत रूपमा वैदेशिक रोजगार कम्पनीमार्फत एक लाख ७२ हजार २६६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने एक लाख ७७ हजार ९८० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । यस्तै व्यक्तिगत सात हजार ६३६ जनाले र संस्थागत रूपमा आठ हजार ५१४ जनाल श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

यूएई पहिलो श्रम गन्तव्य
आर्थिक वर्ष २०७६/७७ मा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य मुलुक बनेको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका सङ्ख्याका आधारमा सबैभन्दा अगाडि यूएई रहेको हो । यूएईपछि साउदी अरब, कतार, मलेसिया छन् । यस अवधिका यूएईका लागि ९३ हजार ४२४ जनाले र साउदीका लागि ८२ हजार १६३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी कतारका लागि ८१ हजार ५६७ र मलेसियाका लागि ५९ हजार ७१४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

त्यस्तै, कुवेतका लागि १६ हजार ८६२, बहराइनका लागि छ हजार १८९, ओमानका लागि चार हजार १३९, जापानका लागि तीन हजार ७२८, जोर्डनका लागि दुई हजार ६२७, रोमानियाका लागि दुई हजार २८, साइप्रसका लागि एक हजार ९९५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी सोही अवधिमा माल्टाका लागि एक हजार ८५०, मकाउका लागि एक हजार ५३७, माल्दिभ्सका लागि एक हजार ३६, टर्कीका लागि एक हजार ५५ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशमा अफगानिस्तान ९२४, क्रोएसिया ६४६, पोर्चुगल ६२७, पोल्यान्ड ४४८, सेसेल्स ४९४, इजरायल ३४२, ब्रुनाई दारुसलाम ४३१ जना रहेका छन् ।

रोजगारीका लागि नेपाल आउने बढे

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्षमा नेपालमा काम गर्न श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालमा काम गर्नका लागि कुल दुई हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् ।

महिला ३२६ र पुरुष १७२४ जना गरी दुई हजार ५० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ९४९ पुरुष र १४२ महिला गरी एक हजार ९१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने पुरुष ७७५ र महिला १८४ गरी ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com