हिमाल आरोहणका लागि दुई सय ३९ जना विदेशीलाई आरोहण अनुमति


प्रकाशित मिति : चैत्र २३, २०७३ बुधबार

हिमाल आरोहणको मौसम सुरु भएस‘गै पर्यटन विभागले १२ वटा हिमाल आरोहणका लागि दुई सय ३९ जना विदेशीलाई आरोहण अनुमति दिएका छन् ।
पर्यटन विभागले यसबर्षका लागि हालसम्म १२ हिमालमा ३० वटा आरोहण दल रहने गरी आरोहणका लागि अनुमति दिएको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले बताउनुभयो ।  पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्थाअनुसार दिइएको अनुमतिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि १७ दलका एक सय ४७ जना छन् ।

नुत्सेका लागि दुई आरोहण दलका १९ जना, आमादब्लम एक आरोहण दलबाट ११ जना, अन्नपूर्ण पहिलो दुई आरोहण दलबाट १० जना, धौलागिरि एक आरोहण दलबाट १५ जना, मकालु ६ जना, ल्होत्सेका लागि ९ जना आरोहीले आरोहण अनुमति लिएको विभागले जनायो । बाँकी अग्ला हिमालमध्ये कञ्चनजंघा आरोहणका लागि समाचार संकलनसम्म अनुमति लिएका छैनन् ।

विभागको तथ्यांकअनुसार सन् २०१४ सम्ममा चार हजार चार सय २८ जनाले सगरमाथाको सफल अरोहण गरेका छन् । त्यसमा दुई सय ७९ जना महिला छन् । तीन वर्षअघि गएको भूकम्प र हिमपहिरोका कारण दर्जनौं मानिसको मृत्यु भएपछि हिमाल आरोहण पूरै ठप्प भएको थियो ।

यसवर्ष आरोहण सिजनको सुरुआतमै अनुमति लिने आरोहीको संख्या ह्वात्तै बढेको महानिर्देशक ढकालले जनायो । सरकारले ६ हजारदेखि आठ हजार मिटरसम्मका आरोहण गर्न यकिन गरेको हिमालमध्ये एक सय ८६ मानवपाइला पुग्न बाँकी रहेको तथ्यांक छ । सरकारले चार सय १४ हिमाल आरोहणका लागि खुला गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com