धार्मिक स्थलमा लागू पदार्थ खुवाएर बीसजनाको हत्या


प्रकाशित मिति : २० चैत्र २०७३, आइतबार

पन्जाब प्रान्तमा सरगोधा शहर नजीकै एउटा सुफी धार्मिक स्थलको रेखदेख गर्ने जिम्मा लिएका एक व्यक्तिले कम्तीमा बीसजना मानिसहरुको हत्या गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

दरबार मोहम्मद अलि भनिने धार्मिक स्थलमा हत्याकाण्ड भएको जनाइएको छ ।

आफुलाई उक्त धार्मिक स्थलको प्रमुख बताउने अब्दुल वहीदले ती व्यक्तिहरुलाई एक एक गर्दै आफ्नो कोठामा बोलाइ उनीहरुलाई लागू पदार्थ खुवाएर धारिलो हतियारले उनीहरुको हत्या गरेको बताइएको छ।

थाना सदर सरगोधामा तैनाथ एकजना प्रहरी मोहम्मद एहसानले शुक्रबार रातीदेखि नै हत्याको सिलसिला शुरु भएको तर प्रहरीले शनिबार रातीमात्रै त्यसबारे थाहा पाएको बताएका छन् । हत्याकाण्डमा बाँच्न सफल चार जनामध्ये एकजनाले प्रहरीलाई सो घटनाबारे बताएका थिए।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ।

एकजना वरिष्ठ प्रहरी अधिकारीले ५० वर्षीय अब्दुलको मानसिक स्थिति अस्थिर रहेको जस्तो देखिएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफुलाई सो धार्मिकस्थलको प्रमुख बताउने अब्दुलसंगै उनका तीनजना सहयोगीहरुलाई पनि प्रहरीले पक्राउ गरेका छन्।

प्रहरीले मारिनेहरुमध्ये १७ जना पुरुष र तीन जना महिला भएको तथा उनीहरु सबै दरबार मोहम्मद अली भनिने एक सुफी सन्तका अनुयायीहरु भएको जनाएका छन्।

प्रहरीले सोधपुछका क्रममा अब्दुल वहीदले ती सबै व्यक्तिहरुले सो धार्मिक संस्थाका यसअघिका पीर अहमद गुज्जर लाई विष खुवाउने षडयन्त्रमा भाग लिएको आशंकामा आफुले उनीहरुको हत्या गरेको बताएको जनाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com