सन् २०१९ मा अमेरिकी अध्यागमनमा कानुनी लडाई : एउटा सदर, दुईवटा कार्यान्वयनमा रोक


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

सन् २०१९ मा ट्रम्प प्रशासनले अमेरिकी अध्यागमनका क्षेत्रमा विभिन्न नियमहरु ल्यायो । तर केही नियमहरु अदालतले कार्यान्वयनमा रोक लगाइदियो भने केही नियम कार्यान्वयनका लागि अदालतले सदर गरिदियो । केही नियमहरुले अहिलेसम्म पनि कानुनी लडाई लड्नु परिरहेको छ ।

मुख्यतया बण्ड सुनुवाई नदिने नियम कार्यान्वयनका लागि अदालतले रोक लगायो भने बाटोमा पर्ने देशमा एसाइलम गरेर अस्वीकृत भएकाहरुमात्र विना भिसा अमेरिकी क्षेत्रमा आएर एसाइलम गर्न पाउने नियम अदालतले सदर गरिदियो । त्यस्तै अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुने सम्भावना भएकाहरुलाई भिसा नदिने नियम कार्यान्वयनमा पनि अदालतले रोक लगाइदियो ।

एसाइलमको योग्यताबारेको नियम

अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा देशमा एसाइलम गरेर अस्वीकृत नभएको व्यक्तिले अमेरिकी सिमाक्षेत्रमा विना भिसा आएर एसाइलम गर्न नपाउने ट्रम्प प्रशासनको नियमले कानुनी लडाईको सामना गर्नुपरेको थियो । कानुनी लडाई सर्बोच्चमा पुगेपछि सर्बोच्च अदालतले ट्रम्प प्रशासनका पक्षमा फैसला गरिदियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको आदेशपछि सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर अमेरिकामा एसाइलम गर्नका लागि अमेरिका आउने क्रममा बाटोमा पर्ने कुनै देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने नियम कार्यान्वयनका लागि अब कुनै रोकतोक छैन ।

यो नियम अनुशार एसाइलम आवेदकले अमेरिका आउने क्रममा बाटोमा पर्ने तेश्रो मुलुकमा वा आफ्नो मुलुक छाडेपछिको अर्को मुलुकमा एसाइलम दावी नगरेको र अस्वीकृत नभएको प्रमाण पेश नगरेको खण्डमा त्यस्तो व्यक्ति अमेरिकामा एसाइलमका लागि अयोग्य हुनसक्छ ।

उदाहरणका लागि कुनै नेपाली अमेरिका आउनुभन्दा अगाडि अर्को कुनै देशमा बसेको छ ,र त्यहाँ एसाइलम दावी नगरी अमेरिकाको दक्षिणी सिमाक्षेत्रमा आएर एसाइलम खोजेको छ भने त्यस्तो व्यक्ति एसाइलमका लागि अयोग्य हुनसक्छ । त्यस्तै अमेरिका आउने क्रममा मेक्सिको, ग्वाटेमाला, वा पानामा लगायत कुनै मुलुक हुँदै आएको खण्डमा त्यो मुलुकमा एसाइलमका लागि आवेदन दिएको हुनुपर्छ ।

बाटोमा पर्ने देशमा एसाइलम दावी नगरेको तर मानव तस्करीको शिकार भएको प्रमाणित गर्न सकेको खण्डमा पनि  अमेरिकी सिमाक्षेत्रमा एसाइलमका लागि योग्य हुनसक्छ । त्यस्तै सन् १९५१ को शरणार्थी सम्बन्धि राष्ट्संघीय महासन्धीमा भाग नलिएको कुनै देश हुँदै अमेरिका आएको आप्रवासी पनि अमेरिकामा एसाइलमका लागि योग्य हुनसक्छ ।

भिसामा स्वास्थ्यविमाको नियम कार्यान्वयनमा अदालतको रोक

ट्रम्प प्रशासनले लागु गर्न लागेको भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयनमा अदालतले रोक लगाएको छ । अदालतको आदेशपछि तत्कालका लागि यो नियम लागु नहुने भएको छ ।

अमेरिकी सरकारले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम लागु गर्ने तयारी गरेको थियो । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको वा लिनेकुरा प्रमाणित गर्न नसक्नेहरुको भिसा अमेरिकी दूतावासले अस्वीकार गर्नसक्छ ।

नयाँ नियम लागु भएमा अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको छ । नयाँ नियम लागु भएमा अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिन्छ । नयाँ नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्छ ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु उल्लेख गरिएको थियो ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको छ ।

अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्ने नियममा उल्लेख छ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख छ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।

१ बर्षको अल्पकालिन स्वास्थ्य विमा, पारिवारिक सदस्यको स्वास्थ्य विमा, एकबर्षको भिजिटर स्वास्थ्य विमा योजनालाई पनि मान्यता दिइने नियममा उल्लेख छ ।

बण्ड सुनुवाई : ट्रम्प प्रशासनबाट खारेज, अदालतले उल्टायो 

अमेरिकामा सिमाक्षेत्रबाट विनाकागजात प्रवेश गरेका एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गरिने १४  बर्षदेखिको अभ्यास ट्रम्प प्रशासनले अन्त्य गरिदियो । तर त्यसलाई एकमहिना नबित्दै अदालतले उल्टाइदियो ।

ट्रम्प प्रशासनले ल्याएको नियममा एसाइलम आवेदकले अदालती सुनुवाईसम्म अध्यागमन जेलमा नै बिताउनुपर्ने उल्लेख थियो ।  अमेरिकामा सन् २००५ भन्दा अगाडि मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई धरौटीमा छाडिने प्रावधान थिएन । तर सन् २००५ मा बोर्ड अफ इमिग्रेशन अपिलले गरेको एउटा फैसलापछि सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलमको दावी गर्ने कागजपत्रविहिनहरुलाई धरौटीमा रिहा गर्न थालिएको थियो ।

सन् २००५ अगाडि अमेरिकामा दुईबर्षभन्दा धेरै बसेको व्यक्ति सिमाक्षेत्रको एकसय माइलभन्दा पर पक्राउ परेमामात्र अदालती सुनुवाई पूरा नहुँदासम्म धरौटीमा रिहा हुनसक्ने प्रावधान रहेको थियो ।

अमेरिकाका विना कागजात प्रवेश गरेकाहरुलाई सुरुमा शीघ्र प्रकृयाको देशनिकालामा राखिन्छ । क्रेडिबल फियर अन्तरवार्ताका क्रममा यदि उनीहरुले एसाइलम अफिसरलाई आफ्नो देशमा फर्कन खतरा रहेको चित्त बुझाउन सकेमा उसको मुद्दा न्यायाधिससमक्ष पेश हुने अवशर प्रदान गरिन्छ । यही प्रकृयाका क्रममा बण्ड सुनुवाईको आग्रह गरेमा त्यस्तो सुनुवाई प्रदान गरिने र अदालती सुनुवाईसम्मका लागि बण्डमा रिहा गर्ने प्रावधान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com