विवादमा तानियो जयबहादुर चन्द नेतृत्वको लागूऔषध ब्यूरो


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

प्रहरीको ठूलो सफलताका रुपमा व्याख्या गरिएको एउटा घटना विवादमा आएको छ । प्रहरी र सरकारी वकिल कार्यालयले मुख्य आरोपीलाई उम्काएपछि चिसो लागूऔषध मानिने स्युडोफेड्रिन तस्करी प्रकरणमा ठूलै रकमको चलखेल भएको आशंका गरिएको छ ।  

सरकारले बुधबारको मन्त्रिपरिषद् निर्णयबाट काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन सहन्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेलाई निलम्बन गरेपछि स्युडोफेड्रिनमा भएको आर्थिक चलखेल सतहमा आएको हो । यस्तै महान्यायाधिवक्ताको कार्यालयले धादिङका जिल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारीलाई पनि निलम्बन गरिसकेको छ ।

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले प्रारम्भिक अनुसन्धानमा लागूऔषध मुद्दामा गम्भीर त्रुटि भेटिएपछि प्रस्ताव कानुन मन्त्रालय पठाएको बताए । उनले घटनाको प्रारम्भिक अनुसन्धानमै दुई अधिकारीको संलग्नता भेटिएपछि निलम्बन गरिएको जानकारी दिए । उनले भने, ‘प्रहरी र वकिल कार्यालयको संयुक्त कार्यमा मुद्दा अघि बढ्ने हो । विस्तृत अनुसन्धान अब हुनेछ, त्यसपछि सत्यतथ्य बाहिर आउला ।’

महान्यायाधिवक्ता श्रेष्ठको नामसमेत घटनामा मुछिएपछि सहमहान्यायाधिवक्ता बद्री गौतमको अध्यक्षतामा सहन्यायाधिवक्ता किरण पौडेल र नायब न्यायाधिवक्ता नारायण पौडेल सदस्य रहेको आन्तरिक छानबिन समिति गठन भएको थियो । महान्यायाधिवक्ता श्रेष्ठले गोप्य रुपमा गठन गरेको समितिले घटनामा घिमिरे, अधिकारी र ललितपुर तथा बाराको सरकारी वकिल कार्यालयबाट बदमासी भएको तथ्यसहित विवरण दिएको थियो । त्यसैका आधारमा कानुनमन्त्री अजयशंकर नायकले बुधबार मन्त्रिपरिषद्मा घिमिरेलाई निलम्बनको प्रस्ताव लगेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयको अनुसन्धानमा औषधि बनाउन प्रयोग हुने प्रिकर्सन इफिड्रिन र स्युडोफेड्रिनको अवैध कारोबार र तस्करीमा मुछिएको आरोपमा पक्राउ परेका आधादर्जन व्यक्तिको मुद्दा कमजोर बनाउन सरकारी वकिल कार्यालयका अधिकारीको मुख्य भूमिका भेटिएको हो । यस्तै घटनाको अनुसन्धान र मुद्दाको रायमा प्रहरीले समेत चलखेल गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले साउन १३ देखि गरेको कारबाहीमा आर्या फर्मा ल्याब, एसआर फर्मा, टौरस ल्याबजस्ता नाम चलेका औषधि उत्पादक नै प्रिकर्सनको अवैध कारोबार र तस्करीमा मुछिएको भेटिएको हो । तर, पक्राउ परेका फर्मा र टौरस ल्याबका सञ्चालक पूर्वसभासद् मधुसूदन अग्रवाल, उनका भाइहरु सञ्जय अग्रवाल र अमीत अग्रवाल, छोराहरु अक्षय अग्रवाल र आशिष अग्रवालमाथि मुद्दा दायर गर्ने प्रहरीको सिफारिस सरकारी वकिल कार्यालयले लत्याउँदै दुई जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कर्मचारी खडानन्द शर्मा र सेयरधनी सञ्जयकुमार गुप्ताविरुद्ध मात्र मुद्दा दायर गरेको हो ।

आजको नागरिक दैनिकमा खबर छ । 

ब्युरोले समेत एकजना सेयर धनीलाई मुद्दा चलाउन सिफारिस गर्दै अन्य अंशियार अशोक गुप्ता अग्रवाल, श्रुति अग्रवाल र अक्षय अग्रवाललाई छाडेको थियो । उनीहरु ब्युरोकै नियन्त्रणमा थिए । यस्तै ब्युरोले व्यापारी पवनकुमार संघाई सञ्चालक रहेको आर्या फर्मा ल्याबको पाटन औद्योगिक क्षेत्रस्थित प्लास्टिक गोदाममा छापा मारी ४ सय ७१ किलो प्रिकर्सर केमिकल बरामद गरेपछि घटना बाहिर आएको थियो । घटनापछि लामो समयसम्म उपत्यकामै रहेका मुख्य आरोपी संघाई त्यसपछि फरार भएका थिए ।

ब्युरोले लगातार काठमाडौं, पाटन, बारा, पर्सा र रौतहटमा छापा मारी पाँच सय किलोग्रामभन्दा बढी इफिड्रिन र स्युडोफेड्रिन बरामद गर्नुका साथै चार जनालाई पक्राउ गरेको थियो । ब्युरोले संघई समूहका रतनलाल संघईलाई पक्राउ गरेको थियो भने पवनकुमार संघई, शंकर हलान, मनिष अग्रवाल र रोहित हलान फरार छन् ।

औषधि व्यवस्था विभागको तथ्यांकमा आवश्यकताभन्दा दसौं गुणा बढी सहायक रसायन र औषधिजन्य कच्चा पदार्थ नेपाल भित्रिएको पत्ता लागेपछि ‘अपरेसन स्युडो’ नाम दिएर अनुसन्धान थालेको थियो । विभागको तथ्यांकअनुसार सन् २०१० यता निरन्तर इफिड्रिन र स्युडोफेड्रिन आवश्यकता र मागभन्दा दसौं गुणा बढी नेपाल भित्रिएको थियो ।

घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्या फर्मा ल्याब प्रालिमा काम गर्ने भारतीय नागरिक दिलीप पण्डित पक्राउ परेका थिए। यस्तै तस्करीमा सघाउने श्याम तामाङ मोक्तान र बद्री वन पनि पक्राउ परेका थिए ।

ब्युरोले पण्डितलाई पक्राउ गरेपछि उनकै सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारेर थप कच्चा पदार्थसहित अन्य तीन अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । ब्युरोको टोलीले बाराको जितपुरमा रहेको आर्या फर्मा ल्याबबाट मोहित हलानलाई २० किलोग्रामभन्दा बढी सोही कच्चा पदार्थसहित नियन्त्रणमा लिएको थियो । मोहित आर्या फर्मा ल्याबका प्रबन्ध व्यवस्थापक हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com