कटुस बिक्रीबाट राम्रो आम्दानी


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

भोजपुर, २३ कात्तिक (रासस) ःभोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ । स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेका छन् ।

खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइँमा पर्ने गरेको छ । कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाइ छ । कटुस बिक्रेता दानमाया तामाङले भन्नुभयो, ‘‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छांै, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ ।’’ एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको तामाङले बताउनुभयो ।

भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासँगै कोसेलीको रुपमा विदेशसम्म जाने गरेको व्यापारीको भनाइ छ । जङ्गलमा टिप्न जाँदा एक जनाले एक दिनमा पाँचदेखि दश केजीसम्म टिप्ने गरेको उनीहरुले बताउने गरेका छन् । शुरुको समयमा प्रतिकेजी रु २५० देखि ३००मा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको बिक्रेता बताउँछन् ।

कटुस बिक्रेता विर्खराज तामाङले भन्नुभयो,‘‘निकै स्वादिष्ट हुने भएकाले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासँगै विदेशसम्म कोसेलीको रुपमा जाने गरेको छ ।’’ विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com