विद्युत् र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् ।

सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला खम्बा गाड्नुपर्ने र सोही खम्बामा बिजुलीका तारसँगै टेलिकमले पनि आफ्ना तार विस्तार गर्नुपर्ने हुन्छ । सडक निर्माणमा जुटेका निर्माण कम्पनीले सडकलाई कालोपत्र गर्न तयारी अवस्थामा बिजुलीका खम्बा, तार र टेलिकमले सोही खम्बामा आफ्ना तार विस्तार गर्न नसकेका कारण काममा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।

विद्युत्का कर्मचारी आउँदा टेलिमका कर्मचारी नआउने र टेलिकमका कर्मचारी आउँदा विद्युत्का कर्मचारी नआउने प्रवृत्तिले गर्दा काममा प्रगति हासिल हुनसकेको छैन । विगत केही दिनदेखि विराटनगरका बजारभित्र र बाहिरका सबै सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने महानगरपालिकाका प्रमुख भीम पराजुलीको दशैँ र तिहारअगावै निर्माणकार्य सम्पन्न गरी नगरलाई धुलोमुक्त शहर बनाउने घोषणालाई दुवै कार्यालयले लत्याएका छन् ।

समयमा काम सम्पन्न नहुँदा विराटनगरवासीबाट जनप्रतिनिधि आलोचित भइरहेका छन् भने विद्युत् प्राधिकरण र टेलिकमका कर्मचारीको आपसी द्वन्द्वका कारण विकास निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ । विगतदेखि शहरी क्षेत्रमा रहेका बिजुलीका खम्बा होचा र त्यसमा पनि टेलिफोनका तारसँगै विभिन्न केबलका तार जोडिएकाले सडक कुरुप देखिन थालेका छन् ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com