न्युयोर्कमा वशन्ती राई र सत्यकला राईको लाइभ प्रस्तुती


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

न्युयोर्कमा कलाकारहरु वशन्ती राई र सत्यकला राईको लाइभ प्रस्तुती हुने भएको छ । नोभेम्बर १५ तारिख शुक्रबार उनीहरुले लाइभ गायन प्रस्तुत गर्न लागेका हुन् ।

न्युयोर्कको सन्नीसाइडमा रहेको बाजेको सेकुवा रेष्टुरेण्टमा लाइभ प्रस्तुती हुने जनाइएको छ । बेलुकी साढे ८ बजेदेखि लाइभ प्रस्तुती सुरु हुनेछ ।

उक्त प्रस्तुतीबाट मनोरञ्जन लिनका लागि १५ डलर शुल्क तिर्नुपर्नेछ । कार्यक्रममा उपस्थीत हुनका लागि कलाकार बशन्ती राईले सबैलाई अनुरोध गरेकी छिन् ।

डान्सरको रुपमा परिचय बनाएकी अमेरिका निवासी कलाकार बशन्ती राई अहिले गायिकाका रुपमा जम्दै गएकी छिन् । बशन्ती राई र जगदिश समालको स्वरमा नयाँ गीत बरको छाया केही पहिले सार्वजनिक गरिएको थियो । गीतको भिडियो न्युयोर्कमा विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

धन लामाको शब्द र बिमल डाँगीको संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका थिए । शंकर बीसीले निर्देशन गरेको गीतको भिडियोमा शंकर बीसी आफैले अभिनय समेत गरेका थिए । अर्की मोडल माया मेलिसा राईले शंकरलाई साथ दिएकी थिइन् ।

 

यसअघि बशन्ती राई र जगदिश समालकै स्वरमा लाने भए लैजाउ कान्छा बोलको गीत सार्वजनिक भएको थियो । जसमा महानायक राजेश हमालले अभिनय गरेका थिए भने वशन्ती राईले मोडलिङ समेत गरेका थिए ।

त्यस्तै बुलाकीले बोलको गीतमा पनि बशन्ती राईले शंकर बीसीसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको थियो । झुम्के बुलाकी बोलको लोक पप गीत समेत गाएकी वशन्तीको स्वरमा रहेको सोई ढोले सोई बोलको गीत युट्युबमा निकै लोकप्रिय भएको थियो ।

सोई ढोले सोईमा बशन्ती राई र राजेश पायल राईले स्वर दिएका थिए भने विल्सन बिक्रम राई, एलिसा राई लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com