२८ लाख डलरको मुद्दा जितेपछि दुर्गा भुर्तेल न्युयोर्कका ५० वकिलको सुचीमा


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

झण्डै २८ लाख अमेरिकी डलरको मुद्दा जितेपछि नेपाली मुलका अमेरिकी कानुन व्यवसायी दुर्गा भुर्तेल सबैभन्दा धेरै क्षतिपूर्ति दिलाउने न्युयोर्कका कानुन व्यवसायीहरुमा टप ५० को सुचीमा परेका छन् । भुर्तेलले सन् २०१८ मा एउटा बंगलादेशी परिवारको मुद्दामा परिवारलाई २८ लाख ६० हजार अमेरिकी डलर क्षतिपूर्ति दिलाउन सफल भएका थिए ।

विभिन्न न्यायालयमा ठूला ठूला मुद्दा जित्नेहरुको सुची तयार पार्ने टप भर्डिक्टले भुर्तेललाई सबैभन्दा ठूलो सेटलमेन्ट गराउन सफल कानुन व्यवसायीको सुचीमा ३७ नम्बरमा राखेको छ । उनले सन् २०१४ देखि प्रतिनिधित्व गरेको उक्त मुद्दा सन् २०१८ को अप्रिलमा जिताउन सफल भएका थिए ।

न्युयोर्कको क्वीन्सको एउटा अपार्टमेन्टमा ३ र ४ बर्षको बच्चासहित बस्दै आएको एउटा बंगलादेशी परिवारले घरको भित्तामा लेड (धातु) भेटिएपछि घरवेटीबिरुद्ध मुद्दा दायर गरेका थिए । बच्चाहरुले उक्त भित्ता चाट्दा परेको असरका कारण बच्चाहरुको रगत परिक्षणका क्रममा उल्लेख्यमात्रामा लेड (धातु) भेटिएको थियो ।

अमेरिकी वातावरण संरक्षण एजेन्सीका अनुशार अमेरिकामा १९४० भन्दा अगाडि बनेका घरमा लेडको मात्रा हुने सम्भावना ८७ प्रतिशत रहेको, सन् १९४० देखि १९५९ सम्म बनेका घरमा ६९ प्रतिशत रहेको र सन् १९६० देखि सन् १९७७ सम्म बनेका घरका भित्तामा २४ प्रतिशत रहेको हुन्छ । घरको नयाँ रंग खुइलिएर पुरानो भित्ता बच्चाले चाटेमा बच्चाको शरिरमा लेड जाने खतरा हुन्छ । जसका कारण बच्चाको बृद्धि विकाशमा नकारात्मक असर पर्छ । बच्चाहरुले झ्यालका खापा, ढोकाका फ्रेमहरु, भर्यांग वा रेलिंग टोक्दा र चपाउँदा उनीहरुको शरिरमा लेड प्रवेश गर्छ ।

कानुन व्यवसायी भुर्तेलले आफूले प्रतिनिधित्व गरेको उक्त मुद्दा स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण रहेको र जसले गर्दा पुराना घर हुनेहरुलाई सचेत बनाउनसक्ने बताएका छन् । भूर्तेलले प्रतिनिधित्व गरेको मुद्दा अमेरिकाका टप १०० पर्सनल इन्जुरी सेटलमेन्टमा पनि ८१ नम्बरमा परेको छ ।

युवा कानुन व्यवसायी दुर्गा भुर्तेलले न्युयोर्कको ज्याक्सनहाइटमा भुर्तेल ल फर्म संचालन गर्दै आएका छन् । सन् २००४ देखि कानुन व्यवसायमा आवद्ध रहँदै आएका उनले सन् २०११ देखि आफ्नै ल फर्म संचालन गर्दै आएका छन् । उनले अध्यागमनको अतिरिक्त व्यक्तिगत चोटपटक, मेडिकल गलत अभ्यास, ब्यापारिक र व्यवसायिक मुद्दाहरुको प्रतिनिधित्व गर्दै आएका छन् ।

अमेरिकाको टुरो कलेजबाट कानुनमा स्नातकोत्तर गरेका भुर्तेलले दिल्ली युनिभर्सिटीबाट पनि कानुनमा स्नातकोत्तर गरेका थिए । काठमाडौंमा भने त्रिभुवन विश्वविद्यालयबाट उनले कानुनमा स्नातक गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com