गुल्मीको झोलुङ्गे पुलको उद्घाटन


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उहाँले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवासलगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताउनुभयो ।

पुल बनेसँगै स्थानीयवासी पनि हर्षित भएका छन् । स्थानीयवासीलाई आवातजावतमा सहज भएको, घाँस, दाउरा ल्याउन तथा विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सहज भएकामा स्थानीयवासी खुशी भएका हुन् । स्थानीयवासी मीना कुमालले पुलले गर्दा सबैभन्दा धेरै बर्खायाममा सहज हुने प्रतिक्रिया दिनुभयो । “बर्खायाममा खेतमा आवतजावत गर्नुपर्ने हुन्छ, तर खोला ठूलो आउने भएकाले धेरै गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “पुल बनेसँगै राहतको महसुस भएको छ ।”

कूल ३०४ मिटर लम्बाइ रहेको पुल ९१ मेट्रिक टन अर्थात् ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्ने गरी विराट÷अन्नपूर्ण जेभीले निर्माण गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्शन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण गरिएको वडा नं १ का अध्यक्ष चुरा खत्रीले जानकारी दिनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com