वन्यजन्तु स्थानान्तरणपछि बेवास्ता
प्रकाशित मिति : फाल्गुन २४, २०७३ मंगलबार
विभिन्न निकुञ्ज र संरक्षित क्षेत्रभित्र रहेका वन्यजन्तुको संख्या बढाउन एकबाट अर्को ठाउँमा सार्ने गरिए पनि तिनको संरक्षणमा सरकारी बेवास्ता देखिएको छ । साथै, त्यस्ता वन्यजन्तुको पछिल्लो अवस्थाबारे सरकारी निकाय बेखबर पाइएको छ । सरकारी तथ्यांकअनुसार ०४३ सालदेखि हालसम्म एक सय २४ जंगली वन्यजन्तुलाई स्थानान्तरण गरिएको छ । एउटा निकुञ्जबाट अर्कोमा स्थानान्तरण गरिएकामा गैँडा, बाह्रसिंगे, कृष्णसार र अर्नालगायत छन् । तर, तिनको पछिल्लो अवस्थाबारे सरकारका कुनै निकायसँग पनि जानकारी छैन ।
पहिलेभन्दा संरक्षण बढेको सरकारी दाबी
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने पहिलाको तुलनामा स्थानान्तरण गरिएका वन्यजन्तुको राम्रै संरक्षण भएको दाबी गरे । ‘पहिला सशस्त्र द्वन्द्वको समयमा वन्यजन्तुको संरक्षणमा प्रभावकारी काम गर्न सकिएको थिएन,’ खड्काले भने, ‘तर, अहिले सरकारी निकायसँगै स्थानीय समुदायबाट वन्यजन्तु संरक्षणमा सहयोग पाएका छौँ ।’
स्थानान्तरणको उद्देश्य पूरा हुन सकेन
स्थानान्तरण गरिएका वन्यजन्तुको व्यवस्थापनमा समस्या हुँदा वन्यजन्तुको संख्या वृद्धिको उद्देश्यसमेत पूरा हुन सकेको छैन । स्थानान्तरण गरिएका वन्यजन्तुलाई प्राकृतिक र कृत्रिम जोखिम रहेकाले जोगाउन समस्या हुने गरेको गै“डाविज्ञ नरेश सुवेदीले बताए । ‘एक वातावरणमा हुर्केका वन्यजन्तु प्राकृतिक र कृत्रिम वातावरणबाट जोगिन जान्दैनन् । यस्तो अवस्थामा सरकारी निकायबाट पर्याप्त हेरचाहको खाँचो पर्छ,’ सुवेदीले भने, ‘तर, स्थानान्तरण गरिसकेपछि वन्यजन्तुअनुकूल वातावरण बनाउन सकिएको छैन ।’
गैँडाविज्ञ सुवेदीले प्राकृतिक कारण उत्पन्न हुने समस्या रोक्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताउँदै कृत्रिम रूपमा हुने चोरीसिकारीलगायत मानवीय गतिविधि भने रोक्न सकिने बताए । तर, अझै पनि राम्रोसँग नियन्त्रण गर्न नसकिएको उनले बताए । ‘एउटा वातावरणमा हुर्केको वन्यजन्तु अर्को क्षेत्रमा सजिलै रक्षात्मक बन्न नसक्दा संरक्षणमा चुनौती थपिएको छ,’ सुवेदीले भने ।
स्थानान्तरणपछि खोजबिन हुँदैन
०४३ सालदेखि नेपालमा जंगली वन्यजन्तुको स्थानान्तरण गर्न थालिए पनि स्थानान्तरण प्रभावकारी भने देखिएको छैन । केही साताअघि कोसी टप्पु क्षेत्रमा मात्र पाइने अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । अर्नाको संख्यात्मक विकासको उद्देश्य राखेर त्यसो गरिएको हो । यसको अर्थ अहिलेसम्म जति स्थानान्तरण गरिएका छन्, तिनको उद्देश्य पनि संरक्षण र वृद्धिसँग जोडिएको छ । तर, सरकारी उदासीनताका कारण स्थानान्तरणको उद्देश्य पूरा हुन नसकेको सम्बन्धित सरकारी कर्मचारीहरूकै आरोप छ ।
स्थानान्तरणपछि समस्यै समस्या
स्थानान्तरण गरिएका वन्यजन्तुमध्ये धेरैजसो चोरीसिकारीद्वारा नै मारिएका छन् । अघिल्लो वर्ष सन् २०१६ मा पाँचवटा गैँडालाई स्थानान्तरण गरिएको थियो । त्यसमध्ये तिनीहरूले दुई बच्चा जन्माएका थिए । तर, आठ महिनाको एउटा बच्चा गैँडा बाघले खाइदियो ।
बाह्रसिंगे र कृष्णसारको स्थानान्तरणपछि पनि संरक्षणमा थुप्रै समस्या आउने गरेको विज्ञहरूको भनाइ छ । स्थानान्तरण गरिएका वन्यजन्तुमाथि प्रविधिको प्रयोग गरी अध्ययन गर्न सकिने सम्भावना रहे पनि त्यसो हुन नसकेको वनसम्बद्ध कर्मचारी स्वीकार गर्छन् ।
कुन वन्यजन्तु कति स्थानान्तरण ?
चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जमा ९२ गैँडाको स्थानान्तरण भएको छ । शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा बाह्रसिंगे स्थानान्तरण गरिएका छन् । कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार भालेसहित १४ कृष्णसार स्थानान्तरण गरिएका छन् । यस वर्ष कोसी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ अर्ना स्थान्तरण गरिएका छन् । अझै सात अर्ना स्थानान्तरणको प्रक्रिया चलिरहेको छ ।
नयाँ पत्रिका /वीरेन्द्र ओली