एकसय पन्ध्र परिवारका लागि एउटै धारा


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ ।

सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा रहेका उहाँले बताउनुभयो । बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ । अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीयवासी पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताउनुभयो ।

सबै गाउँको संयुक्त एक खानेपानीको धारा छ । दिनभरि सोही धारामा मानिसको लाइनले गर्दा पालो कुर्दाकुर्दै घण्टौँ समय लाग्ने गरेको उहाँको भनाइ छ । भूगोलका हिसाबले निकै दुर्गम मानिएको यहाँ पानीकै कारण स्थानीयवासी चिन्तित छन् । नगरपालिकाले बस्तीस्तरको योजना छान्दा आफ्नो गाउँको खानेपानी वर्षाँैदेखि छुटाउँदै आएको स्थानीयवासीको आरोप छ ।

खानेपानीकै अभावका कारण गाउँलेहरुले बसाइँ नै सार्ने अवस्था आएको स्थानीयवासी पवित्रा रोकायले बताउनुभयो । कसैले पानीको समस्याबारे कुरा उठाउँदा पनि नसुनेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । नगरपालिकाको बजेटबाट सो ठाउँमा खानेपानी ल्याउन नसकिने अवस्था रहेको बताइएको छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com