महरा पुर्पक्षका लागि थुनामा


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

काठमाडाँै जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उहाँलाई डिल्लीबजार कारागारमा राखिने छ । महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com