Follow @khasokhasmag

सप्तरी घटनामा ३७ प्रहरी घाइते – प्रहरी प्रवक्ता


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा नेकपा एमालेको सभा सकिएपछि मधेसी मोर्चा प्रहरीबीचको झण्डमा ३७ जना प्रहरीहरु घाइते भएका छन् । झडपका क्रममा २२ जना जनपथ प्रहरीहरु र १५ जना शशस्त्र प्रहरीहरु घाइते भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले खसोखासलाई जानकारी दिनुभयो । झडपका क्रममा प्रहरीको रेडियो सेट हराएको छ भने प्रदर्शनकारीहरुले कैयन गाडीमा आगजनी गरेका छन् । घाइते प्रहरीको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको खनालले खसोखासलाई जानकारी दिनुभयो ।

झडपका क्रममा चारजनाको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी, एमाले कार्यकर्ता र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव एक सय मिटर टाढा प्रहरीको गोली लागेर २२ बर्षिया सञ्जन मेहता, दिगम्बर यादव, आनन्द शाह र पिताम्बर मण्डलको मृत्यु भएको छ । प्रदर्शनको क्रममा अन्य ३० जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । एमालेको कार्यक्रम सकिदै लागेको बेला प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०–२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाँउ–ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com