बहुवर्षे सडक शिलान्यास


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

इटहरी उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागेको सडकको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका–१८, १९ र २० लाई जोड्ने उक्त सडकको आज नगरप्रमख द्वारिकालाल चौधरीले शिलान्यास गर्नुभयो ।

नगरप्रमुख चौधरीले एक वर्षमा ३० किलोमिटर सडक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । नगरलाई समृद्ध बनाउन यो सडकले महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले नगरपालिकाका तीन वडालाई समेट्ने गरी ‘नो कमिशन नो करप्शन’ नीति अवलम्बन गरी सडक निर्माण गरिने बताउनुभयो । सडक निर्माणपछि नगरबस सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाका इन्जिनीयर जीवन घिमिरेले सो सडक १५ महिनाभित्र निर्माण गरिने बताउनुभयो । “सडक समयमै निर्माण नगरे म्याद थप गरिने छैन”, उहाँले भन्नुभयो । रु चार करोड ५७ लाखको लागतमा निर्माण हुने पाँच मिटर चौडाइको उक्त सडकको लम्बाइ साढे छ किलोमिटर रहेको छ । सडक निर्माणले कान्छीचोक, वडहरा, डकाहा, पटेरुवा, अमाहा र महुलियाका बासिन्दालाई सहज हुनेछ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com