वडाध्यक्ष घर्ती नेकपामा प्रवेश


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन् ।

सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्गठनका केन्द्रीय सदस्य एंव धवलागिरि इञ्चार्ज सुमित घर्ती पनि नेकपामा प्रवेश गरेको जनाइएको छ । पार्टी प्रवेश गर्नेलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज बलावती शर्मा, नेकपाका नेता एवं प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि वडाध्यक्ष घर्तीले विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न मूल पार्टीमै फर्केको प्रतिक्रिया दिनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com