विश्वकै ठूलो न्युयोर्क म्याराथन भोलि, नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

आइतबार न्युयोर्कमा हुने बहुचर्चित न्युयोर्क म्याराथनमा ४ जना नेपालीहरु दौडदैछन् । म्याराथनमा रोजन श्रेष्ठ, ओम दाहाल, अनन्द खत्री र युवराज खनाल दौडने आफूहरुले जानकारी पाएको न्युयोर्क स्थीत नेपाली कन्सुलेट जनरलले जनाएको छ ।

म्याराथनमा नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि न्युयोर्क स्थीत नेपाली कन्सुलेट जनरलले समेत सघाएको छ । नेपाल भ्रमणवर्षको प्रवद्र्धनका लागि शुक्रबार आफूहरु म्याराथनको परेडमा समेत सहभागी भएको र आइतवार म्याराथन समापनस्थलमा समेत पुग्ने कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराईले जानकारी दिए ।

धावक रोजन श्रेष्ठ र कार्यवाहक महावणिज्यदूत पुष्प भट्टराई ।

न्युयोर्क म्याराथनमा विश्वका १२५ देशका सहभागीहरु दौडने छन् । स्टेटन आइल्याण्डबाट सुरु हुने म्याराथन ब्रुकलिन, क्वीन्स, ब्रोंक्स र म्यानहटनका भागहरुमा हुनेछ । २६ दशमलव २ माइल लामो म्याराथन न्युयोर्कको सेन्ट्रल पार्कमा समापन हुनेछ । म्याराथन विहान ८ बजेदेखि सुरु हुनेछ ।

 

ओम दाहाल

विश्वको सबैभन्दा ठूलो न्युयोर्क म्याराथन हरेक वर्ष नोभेम्बरको पहिलो आइतवार आयोजना गरिदै आएको छ । म्याराथनको १० लाखले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ भने १० हजार स्वयमसेवकहरु खटिनेछन् ।

सुरुमा आफू स्वत प्रेरित भएपनि अहिले आफूलाई थप प्रेरणा मिलेको म्याराथनमा सहभागी हुन लागेका रोजन श्रेष्ठले बताए । उनले आफू नेपाल र गोरखाको प्रतिनिधित्व गरेर म्याथनमा भाग लिन लागेकोमा निकै उत्साहित रहेको बताए ।

रोजन फ्लोरिडा र शियाटलमा विभिन्न खालका अवरोधहरु पार गर्दै दौडनुपर्ने स्पार्टन रेसमा समेत सहभागी भइसकेका छन् । उनी हवाईमा तेश्रो स्पार्टन रेसका लागि समेत छनौट भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com