पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई ग्रिनकार्ड नदिइने


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले दुईवटा निर्णयहरु गर्दै देशनिकालाबिरुद्ध लड्ने आप्रवासीका विकल्पहरुलाई खुम्च्याएका छन् । महान्यायाधिवक्ताको विशेष अधिकार प्रयोग गर्दै उनले पुरानो अपराधमा दोषी ठहरिएकालाई देशनिकाला हुनबाट जोगाउने लामो बाटो हटाइदिएका छन् ।

साथै विलियम बारको निर्णय अनुशार अब पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाएकाहरु विभिन्न तरिकाबाट ग्रिनकार्डका लागि अयोग्य हुनेछन् । यो कदमबाट आप्रवासीलाई देशनिकालाबाट बच्ने कममात्र उपायहरु रहेको र धेरै आप्रवासीहरु देशनिकाला हुनसक्ने भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

महान्यायाधिवक्ताले बोर्ड अफ इमिग्रेशनमा रहेका मुद्दा आफूसमक्ष तानेर त्यसबारे निर्णय गर्न पाउने विशेषाधिकार रहेको छ । त्यस्ता मुद्दाबारे फैसला गर्दै उनले त्यसलाई नजिरका रुपमा अन्य मुद्दाका सन्दर्भमा लागु गराउन सक्ने विशेषाधिकार रहेको छ ।

पूर्व महान्यायाधिवक्ता जेफ सेसनले आफ्नो कार्यकालमा यस्ता ५ वटा मुद्दाहरु तानेर फैसला गरेका थिए भने विलियम बार पनि त्यही पदचापमा रहेका छन् । उनले अहिलेसम्म त्यस्ता ४ मुद्दामा फैसला गरिसकेका छन् ।

नयाँ फैसलामा विलियम बारले दुई वा त्योभन्दा धेरैपटक मादक पदार्थ सेवन गरेर गाडी चलाएकालाई असल नैतिक चरित्र नभएको भन्दै ग्रिनकार्डका लागि अयोग्य सावित गरेका छन् । अमेरिकामा देशनिकालालाई रद्द गराउन र नागरिकताका लागि आवेदन दिनका लागि असल नैतिक चरित्र भएको प्रमाणित गर्नुपर्ने प्रावधान छ ।

तस्वीरमा महान्यायाधिवक्ता विलियम बार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com