विश्वकै ठूलो न्युयोर्क म्याराथनमा दौडदै नेपाली युवा रोजन


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

आगामी आइतबार न्युयोर्कमा हुने बहुचर्चित न्युयोर्क म्याराथनमा नेपाली युवा रोजन श्रेष्ठ समेत दौडदैछन् । विश्वका १२५ देशका सहभागीहरु दौडने उक्त म्याराथनमा श्रेष्ठले पनि सहभागिता जनाउन लागेका हुन् ।

स्टेटन आइल्याण्डबाट सुरु हुने म्याराथन ब्रुकलिन, क्वीन्स, ब्रोंक्स र म्यानहटनका भागहरुमा हुनेछ । २६ दशमलव २ माइल लामो म्याराथन न्युयोर्कको सेन्ट्रल पार्कमा समापन हुनेछ । म्याराथन विहान ८ बजेदेखि सुरु हुनेछ ।

विश्वको सबैभन्दा ठूलो न्युयोर्क म्याराथन हरेक वर्ष नोभेम्बरको पहिलो आइतवार आयोजना गरिदै आएको छ । म्याराथनको १० लाखले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ भने १० हजार स्वयमसेवकहरु खटिनेछन् ।

रोजनले आफू अमेरिकाको कोलोराडोमा हुँदा तीनबर्ष अगाडिदेखि दौडन सुरु गरेका थिए । उनले एकमाइलबाट दौडन सुरु गरेका थिए भने हरेकपटकमा एक चौथाई माइल थप्दै आफ्नो गति बढाएका थिए ।

उनी फ्लोरिडा र शियाटलमा विभिन्न खालका अवरोधहरु पार गर्दै दौडनुपर्ने स्पार्टन रेसमा समेत सहभागी भइसकेका छन् । उनी हवाईमा तेश्रो स्पार्टन रेसका लागि समेत छनौट भएका थिए ।

नेपालको गोरखामा जन्मिएका रोजनले आफ्नो जन्मस्थानको इतिहास नै दौडसँग सम्बन्धित भएको र दौडमा सहभागी हुँदा आफूलाई भित्रैदेखि आत्मसन्तुष्टी समेत मिल्ने बताएका छन् । गोरखाको लिगलिगकोटमा हरेक दशैंको टिकाको दिनमा दौडको आयोजना गरिने र जित्नेलाई राजा बनाइने गरेको इतिहास समेत रहेको छ ।

रोजन भन्छन् – ‘प्राय नेपालीहरु आफ्ना पुर्खाको बहादुरीप्रति गर्व गर्छन् । तर कुरा गरेरमात्र होइन पुर्खाको विराशतलाई व्यवहारमा समेत निरन्तरता दिनुपर्छ भन्ने भावना मभित्र छ । म नेपाली हुँ र त्यसमा पनि गोरखाली ।’

आफू शाकाहारी रहेका रोजन शाकाहारी व्यक्तिसमेत खेलकुदमा सहभागी हुनसक्छन् भन्ने सन्देश समेत आफूले दिन चाहेको बताउँछन् । त्यस्तै हरेक युवाले आफ्नो क्षमताको सम्मान गरेर त्यसलाई शक्तिमा परिणत गर्नुपर्ने बताउँदै उनी भन्छन् – ‘तपाई आफूले गर्न नसक्ने चीज गर्नुहुन्न भने ठीकै छ । तर गर्न सक्ने चीज पनि गर्नुहुन्न भने त्यो अत्यन्तै गलत हो ।’

आफूले म्याराथनमा प्राय अन्य देशका नागरिकहरुमात्र दौडेको र नेपालीहरु कमैमात्र दौडेको देखेकाले आफूले न्युयोर्क म्याराथनमा दौडने निर्णय गरेको उनले बताएका छन् । केही पनि गर्न नसक्ने सोंच्नेहरुमाझ आफू उदाहरण बन्न चाहेको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com