अमेरिकाको एरिजोनामा ट्रकको डिब्बामा भेटिए ३० कागजपत्रविहिन


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

अमेरिकाको एरिजोनामा एउटा ट्रकको डिब्बामा ३० जना कागजपत्रविहिनहरु भेटिएका छन् । उनीहरुको जीवितै उद्दार गरिएको छ । दक्षिणी एरिजोनामा भएको उक्त घटनामा संलग्न भएको अभियोगमा दुईजना अमेरिकी नागरिकता भएका व्यक्तिलाई पक्राउ गरिएको छ ।

सिमा सुरक्षा गस्तीको कुकुरले पत्ता लगाएपछि टक्सन सेक्टरका सिमा सुरक्षा अधिकारीहरुले ट्रकको दोश्रोपटक जाँच गर्दा भित्र कोचिएको अवस्थामा आप्रवासीहरु भेटिएका थिए । उनीहरुमध्ये २९ जना मेक्सिकन र १ जना इक्वेडरका नागरिक रहेको जनाइएको छ ।

ट्रक चालक अमेरिकी नागरिक भएको र उनलाई मानव तस्करीको अभियोगमा गिरफ्तार गरिएको जनाइएको छ । यस अगाडि एरिजोनामा फ्रिज जडान गरिएको ट्रकमा ३२ जना कागजपत्रविहिनहरु फेला परेका थिए । अक्टोबर १६ को घटनामा उनीहरु सबैलाई जीवितै उद्दार गरिएको थियो ।

त्यस्तै सेप्टेम्बरको दोश्रो साता पनि ३१ जना मेक्सिकन कागजपत्रविहिनलाई ट्रकमा राखेर एरिजोना हुँदै अमेरिका छिराउदै गर्दा अमेरिकी नागरिकता भएका चालक पक्राउ परेका थिए । केही दिन अगाडिमात्र बेलायतमा गैरकानुनी रुपमा छिर्न गर्दा ज्यान गुमाएका ३९ जनाको शव ट्रकको डब्बामा भेटिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com