दिल्लीको वायुको गुणस्तर थप नाजुक


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

नयाँ दिल्ली, ८ कात्तिक (रासस-एएनआई) ः भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ ।

तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार विहान ८.३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको सुचक (एक्युआई) ३२६ देखिएको थियो ।

त्यसैगरी धिरपुरको एक्युआई ३५१ भएकाले त्यहाँको अवस्था अझ नराम्रो रहेको विज्ञहरूले बताएका छन् ।

दिल्ली विश्वविद्यालय आसपासको एक्युआई ३५७ हुदाँ चाँदनीचोकको वायुको एक्युआई ३२५ देखिएको थियो ।

विज्ञहरूका अनुसार वायुमा एक्युआई शुन्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्युआई देखिँदा सन्तोषजनक मानिन्छ ।

त्यसैगरी एक्युआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति कमजोर (खराब) र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञहरूको भनाई छ ।

पन्जाब र हरियणा लगायतका छिमेकी राज्यहरुमा नियमितरूपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्लीमा वायुको गुणस्तर खस्किएको उनीहरूले बताएका छन् ।

वायु प्रदुषण गराउने वस्तु बाल्न निषेध गरिए पनि कृषकहरूले भने बाल्न रोकेका छैनन् । अर्को विकल्प नभएकाले बाल्ने क्रम नरोकिएको कृषकहरुले बताउने गरेका छन् । उनीहरुले वायु प्रदुषण आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनहरुका कारण हुनेगरेको दावी गर्ने गरेका छन् ।

भारतको मुख्य भूभाग मानिने नयाँ दिल्लीमा दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् ।

खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिको बढी असर बालबालिका र वृद्धवृद्धाहरूमा पर्ने गरेको विज्ञहरूले बताएका छन् ।

–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com