प्रि–युनिभर्सिटी कलेजको परीक्षा लिने शैली, टाउकोमा कार्र्टुन बक्स विरोधपछि ………


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

परीक्षा दिँदा विद्यार्थीलाई टाउकोमा कार्र्टुन बक्स लगाउन बाध्य पारिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि भारतको एउटा कलेजले माफी मागेको छ । कर्नाटक राज्यको भागत प्रि–युनिभर्सिटी कलेजमा रसायनशास्त्रको परीक्षा भइरहेको समयमा विद्यार्थीलाई टाउकोमा कागजको बाकस लगाउन बाध्य पारिएको थियो । चारपाटे बक्सलाई विद्यार्थीको अनुहार पर्ने भागमा काटिएको थियो भने अन्य भाग बन्द गरिएको थियो ।

विद्यार्थीले अरू साथीको नक्कल नगरून् वा चोर्न नपाऊन् भनेर गार्डले त्यस्तो जुक्ति निकालेका थिए । तर, विद्यार्थीको सो तस्बिर जब भाइरल भयो, तब कलेज र प्रशासनको चौतर्फी आलोचना भयो । परीक्षा लिने सो शैली अमानवीय र घृणित भएको भन्दै विभिन्न पक्षबाट चर्को विरोध भएको थियोे । चौतर्फी आलोचनापछि कलेजका एक प्रशासकले कलेजको तर्फबाट सार्वजनिक माफी मागेका छन् ।

विद्यार्थीलाई चिट चोर्नबाट रोक्न चालिएको सो अस्वाभाविक कदमप्रति सतीश नाम गरेका प्रशासकले माफी मागेका हुन् । विद्यार्थीको सहमतिमा नै टाउकोमा बाकस राखिएको उनले दाबी गरे । विद्यार्थी आफैँले बक्स ल्याएको पनि उनले दाबी गरे ।‘टाउकोमा बक्स राख्न कसैलाई पनि बाध्य पारिएको थिएन । सबै परीक्षार्थीले लगाएका पनि थिएनन्,’ उनले भने, ‘लगाउनेमध्ये कोहीले १५ मिनेट र कसैले २० मिनेटपछि हटाएका थिए । एक घन्टापछि हामी आफँैले उनीहरूलाई हटाउन भनेका थियौँ ।’

तस्बिर सार्वजनिक भएपछि क्षेत्रीय कार्यालयको एउटा टोली विद्यालय पुगेको थियो । प्रि–युनिभर्सिटी एजुकेसन बोर्डका उपनिर्देशक एसी पियरजाडेले परीक्षार्थीमाथि अमानवीय व्यवहार भएको बताए । ‘यसबारे जानकारी पाएलगत्तै कलेज पुगेर बाकस हटाउन निर्देशन दिएँ,’ उनको भनाइ उद्धृत गर्दैै भारतको टाइम्स अफ इन्डियाले अगाडि लेखेको छ, ‘मैले कलेज व्यवस्थापनलाई सूचना दिएको छु । त्यस्तो कार्य गर्नेलाई अनुशासनको कारबाही गर्नेछु ।’ सो कार्य अगामी दिनमा नदोहोरिने विद्यालयका अधिकारीले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com