अहिलेसम्म ८१२७ नेपालीलाई अमेरिकामा शरण, अधिकांश माओवादीपीडित !


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

-किशोर पन्थी

अब अमेरिकामा नेपाली लगायत कुनै पनि देशका आप्रवासीहरुलाई असाइलम गर्न पहिले जस्तो सहज नहुने भएको छ । मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेर ग्रिनकार्डको लागि उपयुक्त विकल्पका रुपमा रोजिदै आएको असाइलमको प्रकृया पहिले भन्दा निकै कठिन बनेपछि यसबाट कैयन नेपालीहरु पनि प्रभावित हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा मंगलबार जारी निर्देशिकाले अमेरिकामा असाइलमलाई जटिल बनाएको हो ।

मापदण्ड उस्तै तर कार्यान्वयनमा कडाई

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि अत्यन्तै आक्रमकखालको नयाँ मेमो जारी गरे । फरबरी २० को मितिमा हस्ताक्षर गरी मंगलबार जारी यो नयाँ मेमोमार्फत युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन, युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट, युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज, एक्टीङ जनलर काउन्सिल, एक्टीङ एसिस्टेन्ट सेक्रेटरी फर इन्टरनेशननल अफेयर्स र एक्टीङ अण्डरसेक्रेटरी फर मेनेजमेन्टलाई केही कडा निर्देशनहरु दिइयो ।

यसअगाडि एसाइलम खोज्नेलाई अमेरिकामा बस्न दिएर एसाइलमका लागि योग्य भए नभएकोबारे अन्तिम फैसला कुर्नसक्ने प्रावधानलाई नयाँ निर्देशनले लगभग अन्त्य गरिदिएको छ । नयाँ निर्देशनपछि अब एसाइलम खोज्ने व्यक्तिलाई एसाइलमका लागि प्रारम्भिक रुपमा नै योग्य नभए अमेरिकाबाट देशनिकाला गर्नका लागि तीब्र गतिको प्रकृया अपनाइने भएको छ । एसाइलम खोज्ने व्यक्तिको डरको कारण विश्वसनीय भए नभएको जाँच्ने मापदण्डमा स्पष्ट परिवर्तन नगरिएपनि नयाँ निर्देशनपछि एसाइलम अफिसरले कुनै व्यक्तिको एसाइलमको कारण जायज भएनभएको बुझ्न थप विवेकको प्रयोग गर्नुका साथै एसाइलम दावी गर्ने व्यक्तिलाई उसको देशमा फर्कन डर भए नभएकोबारे बुझ्न आफ्नो ज्ञानको प्रयोग गर्नेछन् ।

मेमोमा स्पष्ट रुपमा भनिएको छ – ‘केही निश्चित अपवादबाहेक अमेरिकामा रहेको व्यक्ति वा कुनै तरिकाबाट अमेरिका छिरेको व्यक्तिले अमेरिकामा एसाइलम आवेदन गर्न सक्छ । तीब्र गतिमा देशनिकाला गरिनेवाला व्यक्तिले आफ्नो देशमा फर्कन डर रहेको बताएमा उसको डर विश्वसनीय भए नभएको बारे निर्धारण गर्न एसाइलम अफिसर समक्ष पेश गरिनेछ । डर भएको विश्वसनीय आधारका लागि व्यक्तिले एसाइलमका लागि योग्य भएको आधार तयार हुनेगरी विवरण दिनसक्नुपर्नेछ । एसाइलम अफिसरले अन्तरवार्ता लिइसकेपछि व्यक्तिलाई उसको देशमा फर्किन डर भएको कुरा एसाइलम अफिसरले निर्धारण गर्न सक्नेछ ।’

नक्कली एसाइलमबिरुद्ध अस्त्र

ट्रम्प प्रशासन र उनी निकटले अमेरिकामा ८० प्रतिशत एसाइलमहरु नक्कली हुने गरेको विश्वास राख्छ । जारी निर्देशिकापनि यसैप्रति लक्ष्यित भएका कारण अब अमेरिकामा नक्कली कथा बनाएर एसाइलम गर्नेहरुलाई अप्ठ्यारो हुने भएको छ । नेपालमा माओवादी युद्ध समाप्त भएर युद्धको नेतृत्व गरेको पार्टी पटकपटक सरकारमा पुगेपनि अधिकांश नेपालीहरुले माओवादीका कारण नेपालमा फर्कन डर रहेको भन्दै एसाइलमको आवेदन दिने गरेका छन् । अधिकांश आवेदनमा माओवादीका कारण नेपाल फर्कन डर रहेको कथाहरु नक्कली हुने गरेका छन् ।

अब यसरी नक्कली एसाइलम गर्नेहरु अमेरिकामा डराउनुपर्ने बेला भएको छ । कुनै आवेदनमा उल्लेखित विवरण नक्कली र झूठो रहेको आशंका लागेमा त्यसको थप परिक्षण गर्ने कुरालाई निर्देशिकाले सुनिश्चित गरेको छ । निर्देशिकामा भनिएको छ– ‘अफिसरले कसैले नक्कली दावी गरेको थाहा पाएमा नक्कली एसाइलम रोक्न फ्रड डिटेक्सन एण्ड नेशनल सेक्युरिटीलाई काम लगाउन सक्छन् । युएससीआईएसका निर्देशक, सीबीपी कमिश्नर, आइस डाइरेक्टरले नक्कली एसाइलम रोक्न भएका कामको परिक्षण गरेर ९० दिनभित्र सेक्रेटरी समक्ष रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ ।’

कानुन व्यवसायी बासु फुलारा भन्नुहुन्छ – ‘कसैले नक्कली कथा बनाएर युएससीआईएसमा एसाइलम हालेको आशंका भएमा त्यस्ता पेन्डिंग केसहरुबारे पनि अब थप अनुसन्धान हुनसक्छ । झूठो विवरण पेश गरिएको ठहरिएमा त्यस्तालाई अप्ठ्यारो हुनेछ ।’

मेक्सिको हुँदै आउनेलाई उतै फिर्ता

मेक्सिको हुँदै गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउन खोज्नेलाई सिमाक्षेत्रमा पक्राउ गरेर अब मेक्सिकोतिरै पठाउन सकिने नयाँ निर्देशिकाले व्यवस्था गरेको छ । मेक्सिकोबाहेक अन्य देशका नागरिकहरुपनि मेक्सिको हुँदै अमेरिका छिरेको भएमा मेक्सिको पठाउन सकिनेछ । उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ । मुद्दा जितेमा मात्र उनीहरुलाई अमेरिका प्रवेशको अनुमति दिइनेछ । जसबाट सयौं नेपालीहरु सहित हजारौं मेक्सिकोबाहेकका देशका नागरिकहरु प्रभावित हुनेछन् ।

मेक्सिकोमा बसेर अमेरिकामा मुद्दा लड्न सहज नहुने भएकाले यो प्रावधानले अप्रत्यक्ष रुपमा व्यक्तिलाई उसकै देशमा फिर्ता जान प्रोत्साहन गरेको छ । नयाँ निर्देशिका अनुरुप एसाइलम गरेको कुनै व्यक्तिको डर विश्वसनीय भए नभएको कडा जाँचपछि नभएको खण्डमा उसलाई थप अवशर नदिइकनै डिपोर्टको प्रकृयामा लैजान सकिने भएको छ । मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाउन सकिने प्रावधान समेत निर्देशिकामा रहेको छ ।

यसअगाडि सिमाक्षेत्रको १ सय माइल आसपासमामा समातिएका र अमेरिका छिरेको दुईसाता भएकाहरुलाईमात्र तीब्र गतिको डिपोर्टेशनमा राखिदै आएको थियो । तर अब भने कुनै व्यक्ति अमेरिका आएको दुईबर्ष पूरा भएको छैन भने अमेरिकाभर जहाँ समातिएकाहरु प्नि तीब्र गतिको डिपोर्टेशनमा पर्नसक्नेछन् । अमेरिकामा भिजिटर भिसामा आएर भिसाको अवधि सकिएका तर कुनै पनि प्रकारको अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरु ठूलो संख्यामा यसबाट प्रभावित हुने भएका छन् । तर निर्देशिकाबारे थप ब्याख्या हुन बाँकी रहेकाले यसबाट पर्ने सम्पूर्ण प्रभावको आकलन अहिले नै गर्न भने मुस्किल छ ।

८ हजार १ सय २७ नेपालीलाई अमेरिकामा एसाइलम

हरेक वर्ष ठूलो संख्यामा नेपालीहरुका एसाइलमहरु स्वीकृत हुँदै आएका छन् । एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार आर्थिक बर्ष सन् २०१६ मा ३ सय १ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जिते भने सन् २०१७ को जनवरीसम्म ८४ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जितेका छन् । सन् २०१७ को अहिलेसम्मको अवधि र सन् २०१६ मा युएससीआईएसबाटै एसाइलमको आवेदन जित्ने नेपालीहरु ३ सयको हाराहारीमा रहेको भएपनि यकिन तथ्यांक भने युएससीआईएसबाट उपलब्ध हुन सकेन ।

युएससीआईएसको तथ्यांक अनशार सन् २०१५ मा ६१७ जना नेपालीहरुको एसाइलम आवेदन स्वीकृत भएको थियो जसमध्ये २५३ जना प्रतिरक्षात्मक र ३६४ जना नियमित एसाइलम पाउनेहरु थिए । त्यस्तै सन् २०१४ मा ५५४ जना नेपालीहरुका एसाइलम आवेदन स्वीकृत भएका थिए । जसमध्ये २५६ जना नियमित एसाइलम गर्नेहरु थिए भने २९८ जनाको प्रतिरक्षात्मक एसाइलम स्वीकृत भएको थियो । त्यसअगाडि सन् २०१३ मा एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ८५४ रहेको थियो, जसमध्ये नियमित एसाइलम स्वीकृत हुनेहरु ४७३ जना रहेका थिए भने प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु ३८१ जना रहेका थिए । त्यसैगरी सन् २०१२ मा ९७५ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ५७२ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ४०३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २०११ मा ७४० जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४१७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ३२३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

सन् २०१० मा ६३९ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४०८ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने २३१ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००९ मा ६६५ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ४९३ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १७२ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । त्यस्तै सन् २००८ मा ४९९ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये ३४७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १५२ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

त्यसैगरी सन् २००७ मा ४१२ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २८१ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १३१ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००६ मा ३७६ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २११ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने १६५ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । सन् २००५ मा ३२२ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये २३७ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ८५ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए । त्यसैगरी सन् २००४ मा २५६ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको थियो । जसमध्ये १६३ जना नियमित एसाइलम स्वीकृत हुनेहरु थिए भने ९३ जना प्रतिरक्षात्मक एसाइलम स्वीकृत हुनेहरु थिए ।

सन् २००३ मा अदालतबाट एसाइलमका मुद्दा जित्ने नेपालीहरु ६५ जना र सन् २००२ मा ४१ जना रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । त्यस्तै सन् २००१ मा अदालतबाट एसाइलमका मुद्दा जित्नेहरु ३५ जना र सन् २००० मा ४८ जना रहेका थिए । सन् १९९९ मा ४९ जना र सन् १९९८ मा १४ जना नेपालीहरुले अदालतबाट एसाइलमका मुद्दा जितेका थिए । युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुमा भने सन् १९९७ मा ३ जना, सन् १९९८ मा १७ जना, सन् १९९९ मा १३ जना, सन् २००० मा १७ जना, सन् २००१ मा १९ जना, सन् २००२ मा ६९ जना, सन् २००३ मा १४३ जना रहेका थिए । यसरी हेर्दा अहिलेसम्म अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहको संख्या ८ हजार नाघिसकेको छ । सन् १९९६ मा नेपालमा माओवादी जनयुद्ध सुरु भएपछिमात्र अमेरिकामा एसाइलम गर्नेहरुको नेपालीहरुको संख्या बढेको हो । यो संख्यामा एसाइलम गरेर थपिएका परिवारका सदस्यहरुको संख्या समावेश छैन ।

मेक्सिकोबाट सिमा पार गरेर अमेरिका आउन खोज्नेलाई अब उतै फर्काइने छ

– बासु फुलारा, कानुनविद्

राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेशको कार्यान्वयनका लागि आएको नयाँ निर्देशिकाको विशेषता के हो ?

मंगलबार दुईवटा निर्देशिकाहरु जारी भएको छ । यसको मुख्य विषय सिमा सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित रहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफ्ना माताहतका निकायहरुलाई राष्ट्रपतिको आदेश कार्यान्वयनका सन्दर्भमा निर्देशिका जारी गरेको हो । यो निर्देशिकामा मुख्य रुपमा केही विषयहरु छन् ।

यसको मुख्य उद्देश्य सिमा सुरक्षा सम्बन्धि अमेरिकाको अध्यागमन कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्नु हो । अमेरिकामा रहेका अध्यागमन कानुनलाई शशक्त रुपमा कार्यान्वयन गर्नु हो । त्यसैले जुनसुकै देशबाट अमेरिकामा आउनेले पनि अध्यागमन कानुनको पूर्णरुपमा पालना गर्नुपर्छ भन्ने मान्यताका साथ यो निर्दे्शिका जारी भएको छ । नेपालीहरुले थाहा पाउनुपर्ने विषय पनि यही नै हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कस्ता व्यक्तिलाई पक्राउ गर्ने र डिपोर्ट गर्ने भन्ने विषय ब्यापक चासोको विषय हो । कार्यकारी आदेश भन्दा अगाडि अमेरिकाबाट व्यक्तिलाई देशनिकालाका लागि विभिन्न बर्ग र प्राथमिकतामा राखिन्थ्यो । तर कार्यकारी आदेश र निर्देशिकामार्फत त्यस्ता प्राथमिकताहरु हटाइएको छ ।

अध्यागमन कानुनको उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई कार्यकारी आदेश र निर्देशिकाले लक्ष्यित गर्छ । अमेरिकामा रहेकय जतिपनि कागजपत्रविहिनहरु छन्, कसैलाई पनि प्राथमिकतामा नराखेर कानुन उल्लंघन गर्ने सबैलाई फोकस गर्न सक्छ । भिसाको उल्लंघन, ओभरस्टे, गैरकानुनी रुपमा सिमा पार गर्ने लगायत सबैलाई यसले फोकस गर्छ । र अध्यागमन कानुनको उल्लंघन गर्ने व्यक्तिलाई यसले देशनिकालाको प्राथमिकतामा राख्छ ।

यसमा कुनै ए बी सी प्राथमिकता छैन । यद्यपी प्राथमिकता भन्दैमा एकैपटक १ करोड भन्दा धेरै कागजपत्रविहिनलाई मास डिपोर्टेशन सम्भव छैन । त्यस्तै अमेरिकामा गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई पहिले क्याच एण्ड रिलिजको अभ्यास थियो । यो निर्दे्शिकामा ब्याख्या गरिएअनुशार त्यो अभ्यासको अन्त्य गरेको छ । क्याच एण्ड रिलिजको व्यवस्थालाई अन्त्य गरेर कुनै रिलिफ र अध्यागमन सुविधाका लागि आवेदन नदिएको वा योग्य नभएको व्यक्तिलाई डिटेन्सनमा राख्ने वा सिमाबाटै फर्काउनसक्ने व्यवस्था गरिएको छ ।

पहिले अमेरिका छिरेको दुईसाताभन्दा कम अवधि भएका र सिमाक्षेत्रको १ सय माइल आसपासमा समातिएकाहरुलाईमात्र तीब्र गतिमा देशनिकालामा राखिनेभएपनि अब त्यो परिवर्तन भएको छ । यो कस्तो परिवर्तन हो ?

ओबामा प्रशासनले अमेरिका छिरेको दुईसाताभन्दा कम अवधि भएका र सिमाक्षेत्रको १ सय माइल आसपासमा समातिएकाहरुलाईमात्र तीब्र गतिमा देशनिकालामा राखिदै आएकोमा अब अमेरिकाभित्र जहाँ सुकै पनि पक्राउ परेका र अमेरिकामा बसोबास गरेको दुईबर्षभन्दा कमसमय भएको व्यक्ति अध्यागमनको उल्लंघन गरेको ठहरिएमा त्यस्ता व्यक्तिलाई तीब्र गतिको देशनिकालामा राखिनेछ । यद्यपी यसमा ब्यापक कुराहरु आउन बाँकी नै छ । अमेरिका आएको दुईबर्ष पनि पूरा भएको छैन र कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएको छैन भने इमिग्रेशन कानुनको उल्लंघन गर्नेलाई तीब्र गतिको डिपोर्टेशन प्रकृयामा राख्ने गरी भएको परिवर्तन मुख्य परिवर्तन हो ।

मेक्सिको हुँदै गैरकानुनी सिमा पार गर्नेहरुलाई मेक्सिकोतिरै फर्काउने भनिएको छ । यो भनेको कस्तो हो ?

यो भनेको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने व्यक्तिलाई जुनदेशबाट आएको हो, त्यही देशमा फर्काइनेछ । यदि व्यक्तिको केस भएमा केस समाप्त नहुँदासम्म जुनदेश हुँदै आएको हो त्यतै फर्काउने कुरा निर्दे्शिकामा उल्लेख छ । त्यस्तो व्यक्तिका पक्षमा फैसला भएमा भने उसलाई अमेरिका प्रवेश गर्न दिइने भनिएको छ । मेक्सिकोहुँदै अमेरिका छिर्न खोज्नेलाई अमेरिकाभित्र छिर्न नदिने तर केस लिने कुरा पनि अहिलेको नयाँ व्यवस्थामा छ । अन्य देशका व्यक्तिले मेक्सिकोमा बसेर कसरी केस लड्ने भन्ने विषयमा अनुमान गर्न गाह्रो छ । किनभने यसबारे थप नीतिहरु आउन बाँकी नै छ । जुनदेशतिरबाट आएको हो त्यही देशमा फर्काउने तर केस अगाडि बढाउने भनिएको छ । यो व्यवहारिक रुपमा कसरी जान्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

टीपीएसले समेट्ने अवधिभन्दा पछाडि अमेरिकामा आएका तर अदालतमा केस पेन्डिंग रहेकाहरुका सन्दर्भमा के हुन्छ ?

अदालतमा केस पेन्डिंग रहेकाहरुलाई मेक्सिकोतिर फर्केर केस लड्नुपर्ने अवस्था आउँदैन । अदालतमा पेन्डिंग अवस्थामा रहेका केसहरुलाई यो निर्देशिकाले खास असर गर्दैन । यदि इमिग्रेशन जजसमक्ष रिलिफ एप्लीकेशन पेन्डिंग रहेको अवस्थामा अदालतको तालिका र क्यालेन्डर अनुशार नै मुद्दा चल्छ । यदि तपाई अमेरिकामा हुनुहुन्छ, मुद्दा इमिग्रेशन अदालतमा छ, जजसमक्ष छ भने त्यस्तो व्यक्ति आत्तिनु जरुरी छैन ।

नयाँ निर्देशिकापछि कस्ता नेपालीहरु प्रभावित हुन्छन् ?

अहिले मेक्सिकोबोर्डरबाट गैरकानुनीरुपमा अमेरिका आउनेहरुलाई यसले शतप्रतिशत प्रभाव पार्छ । जो गैरकानुनीरुपमा अमेरिकामा आउने योजनाका साथ बाटोमा छन्, उनीहरु प्रभावित हुन्छन् । यो निर्देशिकाको उद्देश्य अमेरिकामा कोही पनि व्यक्ति गैरकानुनी रुपमा प्रवेश नआओस् भन्ने हो । आउनेहरुले कानुनी बाटोबाटै आउनुपर्छ भन्ने यसको मान्यता हो । यदि अमेरिका आएको दुईबर्ष पनि पूरा भएको छैन र कुनै इमिग्रेशन सुविधाको आवेदन छैन वा इमिग्रेशन सुविधा अस्वीकार भइसकेको छ भने त्यस्तो व्यक्ति तीब्र गतिको देशनिकालामा पर्ने सम्भावना रहन्छ । तीब्र गतिको देशनिकालाबारे कैयन कुराहरु विस्तारमा आइसकेका छैनन् । यसबारे थप नीतिहरु आउनसक्छ । नयाँ आएको व्यक्तिले अध्यागमन कानुनको उल्लंघन गरेर कुनै आवेदन नदिई बसेको खण्डमा त्यस्ता व्यक्तिलाई प्रभाव गर्छ ।

अब एसाइलम त अमेरिकामा गाह्रो हुने भयो नि ?

नक्कली एसाइलम रोक्न अपरेशन सेन्टरहरु राख्ने र अहिलेका निकायहरुसँग समन्वय गर्ने कुरा आएको छ । पेन्डिंग रहेका केसका सन्दर्भमा पनि कसैले नक्कली एसाइलम हालेको पाइएमा वा शंका लागेमा अतिरिक्त अनुसन्धानहरु गर्ने भएको छ । कुनै आधार विना एसाइलम हाल्ने व्यक्तिलाई यसले पक्कैपनि अप्ठ्यारोमा पार्नेछ । युएससीआईएसमा पेन्डिंग रहेका केसका सन्दर्भमा पनि कसैले त्यस्ता कृयाकलाप गरेको खण्डमा वा शंका लागेमा फ्रड भए नभएको जाँचबुझ हुने व्यवस्था भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com