जाने होइन त घलेगाउँ ?


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

-बेलिना थापा

लमजुङ । घलेगाउँकी सीता गुरुङ (३१) लाई हिजोआज पाहुना स्वागत गर्न भ्याईनभ्याई छ । एक वर्षदेखी होम स्टे संचालन गर्दै आएकीे सीता अहिले पर्यटक आउने मौसम भएकोले व्यस्तता बढेको बताउँछिन् । फागुनमा मात्रै करिब डेढ सय पर्यटकहरुलाई घरमा बस्ने व्यवस्था मिलाएकी सीता यो कामले आनन्द दिएको बताउँछिन् । भन्छिन्, ‘पर्यटकको स्वागत गर्दा खुशी लाग्छ ।’

अहिले उनको घरमा आउनेमध्ये धेरैजसो विद्यार्थी छन् । जाडोको समयमा विद्यालय बन्द हुँदा विद्यार्थीहरुले घुम्न पाएको उनी बताउँछिन् । ‘भदौ असोजमा विदेशी पर्यटक धेरै हुन्छन्, अहिले चाँहि विद्यार्थीहरुको लर्को नै लागेको छ,’ उनी भन्छिन् ।

दक्षिण एशियाकै बहुचर्चित लमजुङको पर्यटकीय गाउँ अहिले आन्तरिक पर्यटकले भरिएको सीता बताउँछिन् । उनी फुर्सद हुँदा परिवारले गर्ने खेतीमा पनि सहयोग गर्छिन् । होम स्टेसँगै आफ्नो घर व्यवहार चलाउन सहज भएको उनको अनुभव छ । ‘सीजनमा महिनामै १५ हजारसम्म आम्दानी हुन्छ, अरुबेला पनि २÷३ हजार भइरहन्छ,’ उनी भन्छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिता झैं घलेगाउँका धेरै महिलाले होमस्टेलाई आम्दानीको माध्यम बनाएका छन् । अरुबेला घाँस दाउरा गर्दै दिन बिताउने ती महिला पर्यटक आउँदा स्वागत सत्कारमा व्यस्त भइहाल्छन् ।

विगत १० वर्षदेखी होमस्टे चलाउँदै आएकी हिराकाशी घलेले सञ्चालकहरुको रोल मिलाएर घर घरमा पर्यटकलाई राखिने बताउँछिन् । पालो अनुसार सबैको घरमा पर्यटक आउने हुँदा गाउँमा सबैलाई आम्दानीको स्रोत नै बनेको छ, होम स्टे ।

०५७ देखि होमस्टे सञ्चालनमा आएको उत्तरकन्या गाविसका वडा नम्बर १, २ र ३ घलेगाउँमा ३३ घरले पर्यटकलाई खाने, बस्ने सुविधा दिइरहेका छन् । सोही सेवामै लागेकी स्थानीय डिलमाया गुरुङ नेपाली र विदेशी दुवैखाले पर्यटकलाई त्यहिँ उत्पादन गरिएको कुखुराको मासु, ढिँडो, सिस्नु, गुन्द्रुक, भटमास जस्ता खानाका परिकार दिने गरेको बताउँछिन् । भन्छिन् ‘पर्यटकले यहिँ फलाएका खाद्यान्न मन पराउँछन्, धेरैजसोले सिस्नुको साग र ढिँडो खान खोज्छन् ।’

विगतमा चिसो मौसममा आगन्तुकहरुको संख्या घट्ने गरेपनि यो वर्ष धेरै आएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष ०७३÷७४ को हालसम्ममा २५ हजार भन्दा बढी पर्यटक घलेगाउँ पुगेका छन् । होम स्टे संचालकको रुपमा महिला पनि उल्लेख्य रहेकाले आर्थिक रुपमा पनि महिलालाई फाइदा पुगेको घलेको भनाई छ । उनका अनुसार गाउँमा पर्यटकको ओइरो लागेकाले पनि होम स्टे सञ्चालन तर्फ महिलाहरु निकै उत्साहित भएका हुन् ।

लमजुङको सदरमुकाम बेशीसहरबाट दुई घण्टामा घलेगाउँ पुग्न सकिन्छ । समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट देखिने मनास्लु, अन्नपूर्ण ४, गंगापूर्ण, हर्क गुरुङ पिक लगायतका हिमालले त्यहाँ पुग्ने जोसुकैलाई लोभ्याउने गरेको छ । यसबाहेक उत्तरकन्या मन्दिर, चियाबगान, भेडीगोठ समेत पर्यटकीय आर्कषणका रुपमा रहेका छन् ।

हिमालको काखमा रहेको र झन्डै सातसय वर्ष पुरानो इतिहास भएको घलेगाउँमा हिमाली दृश्यावलोकनसँगै सुधारिएको होम स्टे, परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्ण चरित्र लगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, पर्यटन संग्रहालय अवलोकन गर्न सकिन्छ । यस्तै, सामूहिक भेडापालन, बोटानिकल गार्डेन र भ्यु टावर पनि पर्यटकलाई आर्कषण गर्छन् ।

पर्यटकको आगमनसँगै घलेगाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे सञ्चालन गरिएको छ । गाउँको तीन ठाउँमा उद्यान निर्माण समेत गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com