न्युयोर्कमा आज नेवा गुठीको म्हपूजा


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

न्युयोर्कमा नेवा गुठी न्युयोर्कले आज सोमबार म्हपूजाको आयोजना गरेको छ । नेवारी संस्कार अनुशार म्हपूजाका साथमा नेवारी खाना, संगीत र नृत्य समेत मुख्य आकर्षण रहने भएको छ ।

उडसाइडको गुल्सन टेरेसमा म्हपूजाको आयोजना गरिएको हो । बेलुका ७ बजेदेखि सुरु हुने म्हपूजा राती ११ बजेसम्म चल्ने जनाइएको छ ।

नेवा गुठीले हरेकबर्ष न्युयोर्कमा सामुहिक म्हपूजाको आयोजना गर्दै आएको छ । नेवार समुदाय म्हपूजा शरीरको पूजा गरेर मनाउँछन् । आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित म्हपूजा मनाउने गरिन्छ ।

म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको मण्डला बनाई त्यसमाथि तेलको मण्डला बनाइन्छ।

अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य धानको बोक्रा निकालेर तयार गरेको कालो चामल, लावा, मासको गेडाको सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता शिरदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडाको बत्ती राखिन्छ।

घरका सदस्यहरु क्रमशः घरको मूलीदेखी लस्करै मण्डला अगाडि पारेर बस्छन। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा, फूलको माला र सयपत्री फूल राखिन्छ।

सुकुन्दा बालेर चामलको पिठोबाट बनाइएको गणेशपूजा गरी सुरु गरिन्छ। यो पूजा घरको मुली महिलाले गर्ने परम्परा छ। यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत रूपमा पूजा गरी खेलइता बत्ती बालेर घुँडा, कुम र टाउकोमा तीन ओटा मुटुमारी चामलको रोटी,पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आँखे आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरी कुले काठको पाठीले खन्याइ म्हपूजा गरिन्छ।

म्हपूजा गर्दा बत्ती निभाउनु हुँदैन भन्नेमान्यता छ। पूजा सकिएपछि क्रममा विमिरो, कोखा, फूलको माला र सयपत्री फूल सहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउकोमा फूल राखिन्छ। त्यसपछि बत्ती ननिभ्दै नकींले तलदेखि लक्ष्मीपूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com