विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ ।

नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराउनुभयो । साठी देशका ७५ कम्युनिष्ट पार्टीको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको १०० वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ । शुक्रबार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । बैठकको शुरुआत आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गर्नुभएको थियो । मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो ।

विश्वका २५ प्रमुख कम्युनिष्ट पार्टी रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ । निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ–आफ्नो देशको मौलिकताअनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीलाई नेपालका तर्फबाट आह्वान गरिएको छ । उपप्रमुख रिजालले भन्नुभयो, “जनताका हरेक सुख दुःखमा सधैँ साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई मत दिएका छन् ।” आफ्नो पार्टी र सरकारको उद्देश्य सामन्तवादका अवशेष र पुँजीवादका विकृतिलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उहाँले त्यसैका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com