बोलपत्र च्यात्ने सात पक्राउ


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो ।

निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बोलपत्र फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सात जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । बुधबार बोलपत्र दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समूहले दर्ता गर्न लागिएका बोलपत्र च्यातेपछि विवाद भई बोलपत्र प्रक्रिया नै रोकिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनभयो ।

उहाँका अनुसार रु ५० लाखको दुई पोष्ट भवन र रु १९ लाखको पर्खाल निर्माणका लागि बोलपत्र खुलाइएकामा आठ बोलपत्र दर्ता भए पनि अन्य बोलपत्र च्यातिएपछि परेका सबै बोलपत्र बदर गरी नियमानुसार पुनः पक्रिया अगाडि बढाइने छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com