अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना


प्रकाशित मिति : फाल्गुन १८, २०७३ बुधबार

आप्रवासीहरुप्रति अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन् ।

अमेरिकामा रहेका कागजपत्रविहिनलाई कागजपत्रको कानुनी बाटोमा लैजान आफू सकारात्मक रहेको राष्ट्रपति ट्रम्पको भनाईलाई न्युयोर्क टाइम्सले आप्रवासी नीतिमा आमूल परिवर्तनको संकेतका रुपमा ब्याख्या गरेको छ ।

मंगलबार संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले गम्भिर अपराध नगरेका लाखौं कागजपत्रविहिनहरुलाई अमेरिकामा कानुनी हैसियतको बाटोमा लैजान आफू खुल्ला रहेको बताएपछि अमेरिकामा रहेका कागजपत्रविहिनमा आशाको संचार भएको छ ।

ह्वाइटहाउसमा टेलिभिजनका प्रस्तोताहरुसँगको भेटमा ट्रम्पले यो समय अध्यागमनका क्षेत्रमा नयाँ कानुन ल्याउने समय भएको बताएका छन् ।

डोनाल्ड ट्रम्पले गम्भिर अपराध नगरेकय कागजपत्रविहिनका लागि उनले कानुनी हैसियत प्रदान गर्नसक्ने बताएपछि यसलाई टेलिग्राफले पनि मुख्य नीतिगत वदलावको संकेत भनेको छ ।

ट्रम्पको सम्भावित नीतिले अपराध नगरेका कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा नलगेपनि अमेरिकामा नै बस्न पाउने गरी कानुनी हैसियत भने प्रदान गर्नसक्ने बताइएको छ ।

ह्वाइट हाउसले ट्रम्पको सम्भावित नीतिका बारेमा आएको यस्तो समाचारको कुनै खण्डन गरेको छैन ।

बुधबार ट्रम्पले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नु अगाडि यस्तो भनाई आएको हो ।

विभिन्न सातवटा मुस्लिम बाहुल्यदेशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि बुधबार ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गर्ने भएका छन् ।

ट्रम्पले बुधबार हस्ताक्षर गर्न लागेको नयाँ कार्यकारी आदेश यात्रा प्रतिबन्ध लगाउने पूरानै आदेशको पुनरावलोकन भएको बताइएको छ । तर ट्रम्पले हस्ताक्षर गर्न लागेको नयाँ आदेशमा पहिले नै भिसा लिइसकेका र ग्रिनकार्ड भएका मुस्मिल बाहुल्य सातदेशका नागरिकहरुलाई अमेरिकायात्रामा प्रतिबन्ध लगाइने छैन ।

तर ती देशका नागरिकहरुलाई नयाँ भिसा प्रदान गर्नमा भने प्रतिबन्ध लगाइने वालस्ट्रीट जर्नलले जनाएको छ । गतमहिना ट्रम्पले जारी गरेको कार्यकारी आदेशले भिसा प्राप्त गरिसकेका सात मुस्लिम बाहुल्य देशका नागरिकका भिसा खारेज गर्दै अमेरिकय आउनमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले सातदेशका नागरिकका ६० हजार जनाका भिसा खारेज गरिएको जनाएको थियो ।

ट्रम्पले बुधबार जारी गर्न लागेको कार्यकारी आदेशबाट ग्रिनकार्ड पाइसकेका सात मुस्लिम बाहुल्य देशका नागरिकहरु प्रभावित नहुने बताइएको छ । जारी गर्न लागिएको नयाँ कार्यकारी आदेशपनि इराक, इरान, सिरिया, यमन, सुडान, लिबिया र सोमालियाप्रति नै लक्ष्यित हुनेछ ।

जारी हुन लागेको कार्यकारी आदेशको ड्राफ्टमा भोलिसम्म केही परिवर्तन समेत हुनसक्ने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com