गाेरखा दरबारको फूलपाती हनुमानढोका ल्याइँदै !


प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार

बडादशैंको सातौं दिन आज फूलपाती ।  शक्तिपीठ र दशैं घरमा शास्त्रीय   विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपातीका रुपमा भित्र्याइन्छ ।

यसरी भित्र्याइएको नवपत्रमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल पनि आजैबाट बढेको छ ।

पेसा र व्यवसायका लागि मूलघरबाट टाढा रहेका मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम पनि जारी छ ।
यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।

परम्परा अनुसार गोरखा दरबारको दशैंघरबाट पठाइएकाे फूलपाती काठमाडाैँ ल्याइन्छ । जमलमा ल्याई प्रोसेशन र हर्ष-बढाइँका साथ हनुमानढोका स्थित दशैँघरमा भित्र्याइन्छ । साेही प्रचलन अनुसार आज पनि गाेरखा दरबारकाे फूलपाती हनुमानढाेका भित्र्याइँदैछ ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com