अमेरिकाको शार्लटमा छुरा प्रहार: अभियुक्तलाई पहिलो दर्जाको हत्या प्रयासको अभियोग


प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

अमेरिकाको नर्थ क्यारोलिनास्थित शार्लट सहरमा एक व्यक्तिलाई छुरा प्रहार गरिएको छ।

सहरको ब्लू लाइन (हल्का रेलमार्ग) मा भएको यो घटनामा एक व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। यही मार्गमा केही महिनाअघि एक युक्रेनी शरणार्थीको घातक छुरा प्रहारबाट हत्या भएको थियो।

हाल उनको उपचार भइरहेको छ र अवस्था गम्भीर रहेको बताइएको छ। घटनालगत्तै प्रहरी अधिकारीहरूले ३३ वर्षीय ओस्कर सोला्र्जानोलाई पक्राउ गरेका छन्।

प्रहरीका अनुसार उनी नशामा थिए र पीडितलाई “लडाइँ गर्न” उक्साउँदै गाली गरिरहेका थिए। उनले अरूहरूलाई पनि धम्क्याइरहेको प्रहरीले उल्लेख गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोला्र्जानोविरुद्ध पहिलो दर्जाको हत्या प्रयासको अभियोग लगाइएको छ।

अदालतको अभिलेखअनुसार, एकजना मजिस्ट्रेटले सोला्र्जानो “अवैध रूपमा प्रवेश गरेको र पहिले पनि देशबाट निकालिएको” व्यक्ति भएको टिप्पणी गरेका छन्। उनलाई जमानतबिनै थुनामा राखिएको छ।

सहरले अपरेसन सेफ सिजन नामक नयाँ सुरक्षा अभियान सुरु गरेको छ। यस अभियानले हिंसात्मक घटनाहरू दोहोरिने क्षेत्रहरूमा प्रहरीको उपस्थिति उल्लेखनीय रूपमा बढाउने लक्ष्य राखेको छ।

यो घटना युक्रेनी शरणार्थी इरिना जरुत्स्काको ब्लू लाइनमा छुरा प्रहार गरी हत्या भएको चार महिनापछि भएको हो। जरुत्स्कालाई अगस्टमा राती स्टेशनबाट ट्रेन चढेपछि छुरा प्रहार गरी मारिएको थियो।

ट्रम्प प्रशासन र केही नेताहरूले यो घटनालाई डेमोक्र्याट नेतृत्व भएका सहरहरूमा बढ्दै गएको हिंसाको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

ब्लू लाइनको सेप्टेम्बरको यात्रु संख्या गत वर्षको त्यही महिनाभन्दा १० प्रतिशतभन्दा बढीले घटेको थियो। शुक्रबार सार्वजनिक भएका फेडेरल ट्रान्जिट प्रशासनका तथ्याङ्कअनुसार अक्टोबरमा यात्रु संख्या ८ प्रतिशतले घटेको देखिएको छ।

अक्टोबरको सुरूतिर शार्लोट एरिया ट्रान्जिट सिष्टमले लाइट रेलका लागि नयाँ सुरक्षा प्रोटोकल जारी गरेको छ। अहिले ब्लू लाइनमा सुरक्षा गार्डहरू पूर्ण रूपमा तैनाथ गरिएका छन्।

अमेरिकामा पछिल्ला केही वर्षयता हिंसात्मक अपराधहरू विशेषगरी छुरा प्रहार, गोलीकाण्ड, सार्वजनिक स्थानमा आक्रमण—बढ्दो रूपमा देखा परिरहेका छन्।

देशभरका अपराध दरहरू सहरअनुसार फरक–फरक देखिए पनि, न्यूयोर्क, लस एन्जेलस, शार्लटजस्ता ठूला महानगरहरूका सबवे, बस, लाइट रेलजस्ता सार्वजनिक यातायात, रातको समयमा हिँडडुल हुने क्षेत्र र भीडभाड क्षेत्रहरूमा छुरा प्रहार र बिनाकारण आक्रमणहरू बारम्बार समाचारमा आइरहेका छन्।

धेरै अमेरिकी सुरक्षा विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्य समस्याहरू, नशा र मादक पदार्थको दुरुपयोग, घरविहीनहरूको सङ्कट, अपर्याप्त सुरक्षा र निगरानी जस्ता कारणहरूले सार्वजनिक स्थानमा हिंसात्मक घटना बढाएको बताइन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com