‘मन भमरा’ हिट भएकोमा खुशी छु


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

-यम बराल, गायक

लामो समय अमेरिकामा बसेर केही महिनाअगाडि नेपाल फर्कनुभएका चर्चित गायक यम बराल यतिबेला नेपालमा चर्चाको शीखरमा हुनुहुन्छ । उहाँको नयाँ एल्बम ‘मन भमरा’ ले उहाँलाई थप चर्चामा ल्याइदिएको छ । ‘मन भमरा’ को भिडियो अहिले युट्युबमा पनि हिट भइरहेको छ । यसैसम्बन्धमा चर्चित गायक बरालसँग खसोखासले गरेको कुराकानी ।

तपाईको नयाँ एल्बम ‘मन भमरा’ बारे बताइदिनुहुन्छ कि ?

यो एल्बम अत्यन्तै छोटो समयमा चर्चित हुन पुगेको छ । एउटा नयाँ प्रयोग पनि हो । सुदुरपश्चिमको देउडा गीतलाई फ्युजन गरेर अहिलेकी चर्चित गायिका कोमल वलीसँगको युगल स्वरमा यो बजारमा आएको छ । यो एल्बम अत्यन्तै समय सापेक्षित छ र छोटो समयमा नै अत्याधिक रुचाइदै छ । जनजीब्रोमा पनि छिटो झुण्डिनसक्ने खालको गीत बनेको छ यो । बजारको सुक्ष्म अनुसन्धान गरेर यो एल्बम तयार पारिएको छ ।

२०५७ सालतिर मेरो मन भन्ने एल्बमले सर्वाधिक ब्यापार गर्न सक्यो । त्यो एल्बमको मन शब्द मलाई फलिफाप भएको मेरो विश्वास छ । त्यसैले मैले यो एल्बमको नाम मन भमरा टाइटल ट्रयाक राखेर हामीले निकालेका छौं । सुदुर पश्चिमको गीतलाई फ्युजन गरेर हामीले नेपाली माटोको सुवासलाई नयाँ रुप दिन कोसिस गरेका छौं । त्यो कुराकोपनि सान्दर्भिकता रह्यो । यसमा म आफै पनि अभिनय गरेको छु । दीपक शर्माको कम्जोजिशन पनि एकदमै नयाँ खालको छ । यी फरक कुराले श्रोता र दर्ककको पनि राम्रो प्रतिकृया र चर्चा आइरहेको छ । यो एल्बमको भविश्य मैले एकदमै राम्रो देखेको छु ।

यो गीतको म्युजिक भिडियोमा आफैले अभिनय पनि गर्नुभएको रहेछ, आफैले अभिनय गर्नुको कारण के हो ?

मेरो सुहाउदो खालको भूमिका भएकाले अभिनय गरेको छु । गीत गाउनुबाहेक पहिले पनि मैले अभिनय गर्थें । त्यो हिसाबले नयाँ डाइरेक्टरले मलाई नै भिडियोमा अभिनय गर्न सुझाव दिनुभएकाले पनि मैले आफै गरें । त्यो अनुशार मैले कति गर्न सकें त्यो त दर्शकले मूल्यांकन गर्ने कुरा हो । तर जहाँसम्म लाग्छ यो गीत नै रोमान्टिक र गर्न सकिने भएकाले मैले यो गीतमा अभिनय गरेको हुँ ।

नेपालमा अरु केमा व्यवस्त हुनुभएको छ ?

म महोत्सवहरुमा कार्यक्रम गर्नमा व्यस्त भइरहेको छु । इलाममा यम बराल नाइट नामको एकदमै ठूलो कार्यक्रम पनि हुन लागेको छ । भर्खरै एल्बमै रिलिज भएकाले प्रोमोशनको काममा पनि खटिरहेको छ । त्यो बाहेक रेकर्डको काम भइरहेको छ । जे होस् खुशी छु । नेपाल फर्केपछि दर्शक र श्रोतको अथाह माया पाइरहेको छु कि मलाई उद्योगमा नै नयाँ पुराना कलाकार र सर्जकसँग मौका पाएको छु । दर्शकसँग सम्बन्धित भएर काम गर्न पाएको छु । यसबाट पनि निकै खुशी छु ।

अमेरिकामा फर्केर कुनै कार्यक्रमको योजना छ कि ?

म अमेरिकामा कार्यक्रमका लागि आइरहने नै छु । अमेरिकामा मेरो अप्रिलदेखि कार्यक्रम सुरु हुनेछ । म दुईतीनमहिना अमेरिकामा बस्नेछु । मेरो कार्यक्रमको सेट भइसकेको छ । तर पनि अरु कार्यक्रम गर्नुपर्ने भएमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ । उहाँहरुलाई आब्हान पनि गर्न चाहन्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com