महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

– विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी

सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको खुलेर सराहना गर्नुभयो । उहाँले नेपालको शान्ति, प्रगति र समृद्धिको कामना पनि गर्नुभयो ।

मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताउनुभयो । उहाँले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको सुनाउनुभयो ।

दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उहाँले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गर्नुभयो ।

उहाँले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नुभएकामा महासचिवप्रति हार्दिक आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाउनुभयो ।

भेटमा राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्र्वा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

‘ब्रेन गेन इनिसिएटिभ’

यसैबीच मन्त्री ज्ञवालीले इलिनोइ राज्यको राजधानी शिकागोमा यही असोज १२ गते त्यहाँ रहेका अमेरिकी तथा नेपाली विद्वत वर्गसँगको भेलालाई सम्बोधन गर्दै उनीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्न आह्वान गर्नुभयो । परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा ती देशहरुका विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तित्व÷विज्ञको ज्ञान, सीप र पूँजीको उपयोग गर्न स्थापना गरेको ब्रेन गेन सेन्टरअन्तर्गतको ब्रेन गेन इनिसिएटिभ कार्यान्वयनमा नेपाललाई सघाउन अनुरोध गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, कृषि विज्ञ, वैज्ञानिक, इञ्जिनीयर, चिकित्सक, प्राध्यापकलगायत करीब ७०० को सूची आफ्नो मन्त्रालयले ब्रेन गेन इनिसिएटिभमा समाहित गरेको जानकारी दिँदै ती विज्ञहरुको विधागत विज्ञताअनुसार नेपालमा स्वयंसेवाका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।

अधिकांश अमेरिकी र नेपालीलाई नेपालमा लैजाने आफ्नो प्रयास, आगामी चैतमा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादबारे समेत जानकारी दिँदै मन्त्री ज्ञवालीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन भेलाका सहभागीलाई आह्वान गर्नुभयो । उहाँले स्वयंसेवाका लागि नेपाल आउने ती विषयविज्ञलाई परराष्ट्र मन्त्रालयले समन्वयका साथै हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्रेन गेन इनिसिएटिभअन्तर्गत पहिलो चरणमा अमेरिकाबाट २० देखि २५ जना नेपालको शिक्षा क्षेत्रमा सघाउन तयार भएका छन् । निकट भविष्यमा उनीहरुले विभिन्न जिल्लाका ग्रामीण भेगमा स्वयंसेवकका रुपमा अध्यापन÷तालीम दिनेछन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com