राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

– विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी
संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गर्नुभएको हो ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाउनुभयो ।

“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रुपमा संयुक्त राष्ट्रसङ्घका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सेनाको सङ्ख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिनुभएको थियो । दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित हुनुुहुन्थ्यो ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com