‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट डा.सन्दुक रुईत सम्मानित
प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार
राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यमबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नु भएको छ ।
वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताउनु भयो ।
आँखाको अनुसन्धानमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउनु भएका वरिष्ठ चिकित्सक रुईतलाई पाँच लाख रुपैयाँ नगदसहित सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद दुई लाख ५० हजारसहितको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता पुरस्कार प्रदान गर्नु भएको थियो ।





