विद्युत्को नौ करोड बक्यौता


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ करोड ८१ लाख ६९ हजार ८७२ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको रु चार करोड ४५ लाख ३४ हजार ४०४ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट रु चार करोड ३६ लाख ३५ हजार ४७२ बक्यौता उठ्न बाँकी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दीपक चौधरीका अनुसार सरकारी कार्यालयले समेत विद्युत्को बक्यौता बुझाएका छैनन् । गएको वर्ष विद्युत्को महशुल नबुझाउनेमध्ये तुलसीपुरमा ५९ वटाको लाइन काटिएको प्रमुख चौधरीको भनाइ छ । लाइन काटिएपछि जरिवाना तिरेर पुनः विद्युत् जडान गर्न सकिने उहाँको भनाइ छ ।

ग्राहकको काटिएको लाइन जडान गरेबापत रु २५ लाख ६४ हजार ३८३ राजश्व सङ्कलन भएको छ । लाइन काटिएर बाँकी बक्यौता नतिर्ने ग्राहकमध्ये अघिल्लो आवसम्ममा ४८ जनालाई कालोसूचीमा राखिएको छ । साथै चालू आव २०७६÷०७७ मा तीन जना ग्राहकबाट रु एक लाख ७८ हजार ३० असुल गरिएको उहाँले बताउनुभयो ।

बक्यौता उठाउनका लागि पटक–पटक पत्र पठाउनुका साथै पत्रचार गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ । महशुल नबुझाएको दुई महीनापछि लाइन काटिने गर्छ । तुलसीपुरमा ३८ हजार ९९१ ग्राहक रहेका छन् । घोराहीमा करीब ३५ हजार ग्राहक छन् । लमही नगरपालिका क्षेत्रमा २५ हजार रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । पछिल्लो समय विद्युत् चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाइ गरेको प्रमुख चौधरीले बताउनुभयो । चुहावट रोक्न टोली परिचालन गरिएको छ । गएको आवमा ४७ वटा चुहावट कारवाही गरिएकोमा त्यसबाट रु चार लाख ९२ हजार ४१२ असुल गरिएको थियो ।

अघिल्लो आव २०७४-०७५ मा ३०.८६ प्रतिशत चुहावट रहेको थियो भने गत आव २०७५-०७६ मा त्यसलाई २१.६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९.३० प्रतिशत कायम भएको थियो । बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गएको वर्ष सबैभन्दा बढी गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फूलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।

विद्युत्को पोलबाटै हुकिङ गरी लैजाने गरेको छ । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरी चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको बताइएको छ । कारवाही गरिएकाबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढी चुहावट हुने र पानी तान्ने मोटरलगायत अन्य इलेक्टोनिक्स सामग्री बढी प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तीमा रु दुई हजारदेखि बढी जरिवाना हुने गरेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युत्लाई राजश्वमा घाटा लाग्ने गरेको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com