पहिराले अरनिको राजमार्ग ठप्प


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, उहाँले भन्नुभयो, “धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।”

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताउनुभयो । अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।

उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com