मदिरा ओसारपसारमा बालबालिकाको प्रयोग


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

ः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रहरुमा पछिल्लो समय मदिरा ओसारपसार कार्यमा सा–साना बालबालिकाको खुलेआम प्रयोग भइरहेको पाइएकोे छ । गाउँमा दशैँको चहलपहल शुरु भएसँगै मदिराजन्य पदार्थको माग बढ्न थालेपछि मदिरा ओसारपसारमा बालबालिका प्रयोग भइरहेको पाइएको केआईसिंह गाउँपालिका वासुदेवीका स्थानीय शेरबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा ओसारपसारमा बालबालिका तथा स्कुले केटाकेटीको प्रयोग भइरहेको छ, जो आफैँमा गैरकानुनी हो ।”

चाडपर्वको मौका छोपी यहाँका ग्रामीण क्षेत्रका व्यापारीहरुले करीब आठदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई अहिले मदिराजन्य वस्तु ओसारपसारमा व्यस्त गराउने गरेको स्थानीय चेतराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साना बालबालिकाले रकम पनि थोरै लिने र दशैँमा घर खर्च पनि चल्ने भएकाले यहाँका कतिपय व्यापारीले मदिरा ओसारपसारमा बालबालिका प्रयोग गर्ने गरेका छन् ।”

जिल्लामा रहेका मुख्य व्यापारिक केन्द्रहरु पिपल्ला, सिलगढी, राजपुर, कालागाढ, बुडर, गोपघाट, दिपायल, जोरायल, बिपीनगरलगायतका ठाउँहरुका मदिरा ‘डिलर’हरुमा मदिरा ढुवानीका लागि आउने बालबालिकाको भीड लाग्ने गरेको दिपायल राजपुरका तेजबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वको चहलपहल शुरु भएसँगै गाउँका व्यापारीले मदिरा ल्याउन ससाना बालबालिका पठाउन थालेका छन्, ठूला मदिरा व्यवसायीले बालबालिकालाई मदिरा दिन बन्द गर्नुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य समानको तुलनामा मदिरा ढुवानीवापत बढी ज्याला पाइने तथा प्रहरी प्रशासनले बालबालिकालाई खासै जाँच नगर्ने गरेका कारण मदिरा बोक्न जिल्लामा पछिल्लो समय बालबालिकाको प्रयोग हुने गरेको बडीकेदार गाउँपालिका बर्छैनका धनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले मदिरा जाँचमा सबैलाई कडाइ गरे पनि बालबालिकालाई खासै जाँच गर्दैन र गाउँका व्यापारीले बालबालिका बढी पठाउने गरेका छन् ।”

मदिरा ऐनमा १८ वर्षभन्दा कम उमेरकालाई मदिरा बिक्री वितरण तथा ओसारपसारमा प्रयोग गर्न नपाइने र प्रयोग भएमा कारवाही गरिने स्पष्ट व्यवस्था भए पनि डोटीका ग्रामीण क्षेत्रमा भने उक्त ऐनको खासै कार्यान्वयन हुन नसकेको उच्च उदालत दिपायलका कानून व्यवसायी रणबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको सक्रियता शहरमा मात्र केन्द्रित भयो, गाउँमा पनि शहर जतिकै सक्रियता हुनुप¥यो, मदिरा ओसारपसारमा बालबालिका प्रयोग गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मदिरा ओसारपसारमा बालबालिका प्रयोग गरेको भेटिएमा तत्काल कारवाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिनाइजाजत मदिरा बिक्री वितरण गर्न पाइँदैन, झन बालबालिका प्रयोग गरेको भेटिए कानूनबमोजिम सजाय हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले मदिरा नियन्त्रणका लागि प्रहरीको छुट्टै टोली परिचालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “चाडबाडमा अवैधरूपमा ओसारपसार हुने मदिरा नियन्त्रण तथा मदिरा पिएर झैझगडा गर्नेलाई नियन्त्रण गर्न हाम्रो छुट्टै टोली परिचालन हुँदैछ, गैरकानुनी रूपमा मदिरा ओसारपसारमा बालबालिका संलग्न गराएको पाइए पक्राउ गरी कारवाही गर्नेछौँ ।”

जिल्लामा मदिरा नियन्त्रणका लागि प्रहरीले वर्षौँदेखि अभियान सञ्चालन गरे पनि यहाँका ग्रामीण क्षेत्रमा अवैधरूपमा बिक्री वितरण तथा ओसारपसार हुने मदिरा पूर्णरूपमा नियन्त्रण गर्न नसकेको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता त छ तर पूर्णरूपमा बन्द गर्न सकेको छैन, मदिराकै कारण चाडबाडमा ठूला घटना हुन्छन् ।”

गाउँमा मदिरा नियन्त्रण गर्नका लागि मदिरा व्यवस्थापन समिति गठन गरिए पनि समितिले समेत मदिराको अवैध व्यापार बन्द गर्न नसकेको स्थानीयवासीको आरोप छ । यहाँका शहर बजारभन्दा पनि ग्रामीण क्षेत्रमा बढीजसो अवैध मदिराको व्यापार हुने गरेको छ ।
–––

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com