तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

सिड्नी, २६ भदौ (रासस-एएफपी) ः तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ ।

इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन् ।

थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको जनाइएको छ ।

अष्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ । तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अष्ट्रेलियाले केही बताएको छैन ।

बेलायती पत्रिकाले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अष्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो ।

अष्ट्रेलियाली प्रसारण संस्था एबिसी ब्रोडकास्टरले ती दुई जना महिलामध्ये एकजनाका अष्ट्रेलियाली केटासाथी पनि तेहरानको एक थुनामा रहेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।

थुनामा परेका मध्येकी एक जना महिला प्राज्ञिक क्षेत्रकी भएको पाइएको छ । ती दुई महिला महिनौँदेखि थुनामा रहेको सो पत्रिकाले हालैमात्र सार्वजनिक गरेको थियो ।

अष्ट्रेलियाले यसै हप्ताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकहरुलाई सूचना जारी गरेको थियो ।

अष्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो । पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अष्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अष्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिनुभएको थियो ।

प्रधानमन्त्री मोरिसनको उक्त प्रतिक्रियापछि आफ्ना नागरिकहरु ती देशमा असुरक्षित होलान् भन्ने डरले ती देशहरुमा भ्रमणमा नजान सूचना जारी गरेको बताइएको थियो ।

पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ । यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशहरुलाई पनि इरान र इराकले तारो बनाउने गरिएको पाइएको छ ।

यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिकहरु इरान र इराकमा असुरक्षित बन्ने गरेका छन् ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com